मारुती भ्यानको ठक्करबाट भारतीय बालकको मृत्यु

इनेप्लिज २०७२ चैत १५ गते १२:३० मा प्रकाशित

सप्तरी, १५ चैत । राजविराज सखडा सडकखण्डअन्तर्गत सप्तरीको छिन्नमस्ता गाविस–२ मा मारुती भ्यानको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको दुधेला ग्राम पञ्चायत–२ निवासी हरेराम यादवको अन्दाजी छ वर्षीय छोरा विजयकुमार यादव रहेको सप्तरी प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते विजयको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आफ्नै १२ वर्षीय दिदी रीता यादवसँग साइकलमा चढेर राजविराजतर्फ आउने क्रममा सोही दिशातर्फ आइरहेको बा१३प २०४७ नंको मारुती भ्यानले छिन्नमस्ता गाविस–२ मा आइतबार साँझ पछाडिबाट ठक्कर दिएको थियो ।

सो मारुती भ्यानको ठक्करबाट रीता र विजय घाइते भएका थिए । गम्भीर घाइते विजयको आज बिहान उपचारका क्रममा मृत्यु भइसकेको छ भने रीताको सोही अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताइएको छ ।

यता ठक्कर दिने मारुती भ्यानलाई इलाका प्रहरी कार्यालय सखडाले नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक रामनारायण यादवले बताउनुभयो ।

यसैबीच मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको भन्दै सप्तरीमा एक ट्रक चालकमाथि सार्वजनिक मुद्दा चलाएको बताइएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१ख ३६०० नंको मिनीट्रकलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा प्रहरीको विशेष चेकिङका क्रममा ट्रक चालक सुनसरीको झुमका–१ बस्ने ४४ वर्षीय इसर सरदारलाई मादक पदार्थ सेवन गरेको पाइएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्ंचनपुरले जनाएको छ ।

प्रतिक्रिया