राष्ट्रिय ज्योतिष सम्मेलन हुदै

इनेप्लिज २०७२ चैत १५ गते १२:१५ मा प्रकाशित

इटहरी, १५ चैत । नेपाल ज्योतिष परिषद्को १४औँ राष्ट्रिय सम्मेलन सुनसरी जिल्लाको इटहरीमा आजदेखि सुरु हुने भएको छ । सम्मेलन विश्व ज्योतिष परिषद् महासङ्घका लागि ऐतिहासिक हुने विश्वास गरिएको छ ।

सम्मेलनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पोख्रेलले पूर्वी नेपालका केन्द्रबिन्दुका रुपमा रहेको इटहरीमा हुन लागेको ज्योतिष परिषद्को सम्मेलनले विश्व ज्योतिष परिषद्का केन्द्रीय कार्यालय नेपालमा राख्ने विषयको समेत निचोड निकाल्ने भएकाले यो सम्मेलन ज्यादै उपलब्धिमूलक र ऐतिहासिक हुने दाबी गर्नुभयो ।

नेपालका उच्च हिमशृङ्खला ऋषिमुनिको तपोभूमि रहनुका साथै विभिन्न देवदेवीको समेत बसोबास भूमि रहेकाले पनि बराहक्षेत्र पिण्डेश्वर शिवालय विष्णुपादुका विजयपुरगढी आदिका कारणले पनि इटहरीमा हुन लागेको ज्योषितको सम्मेलन ज्यादै महत्वपूर्ण हुने डा पोख्रलेको भनाइ रहेको छ ।

भारतबाट समेत प्रतिनिधि र पर्यवेक्षक गरी ५०० बढी ज्योतिषको उपस्थिति रहने सम्मेलनले विश्व ज्योतिष महासङ्घ स्थापनालाई मूर्तरुप दिइने छ ।

ज्योतिष विज्ञानले जातजाति धर्म र लिङ्गका विषयमा कुनै विभेद गर्दैन भन्नुहुँदै नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेले सम्मेलनले ज्योतिष विज्ञानका विषयमा नयाँ खोज अनुसन्धानका विषयमा पनि ऐतिहासिक निर्णय गर्ने बताउनुभयो ।

निःशुल्क स्वास्थ्य शिविर
सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–२४ तरहरामा रहेको प्याराडाइज बोर्डिङ स्कुलले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य जाँचका लागि एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सकका संस्था पिएसआरएसको प्राविधिक सहयोगमा विद्यालयले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा सोही विद्यालयमा अध्ययनरत ३०० बढी बालबालिकाको स्वास्थ्य जाँच गरिएको थियो ।

चिकित्सक दिनेश घरेलको नेतृत्वमा आएको ४३ सदस्यीय चिकित्सक टोलीले विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच गरेको विद्यालयका प्रिन्सिपल दिलकुमार बनले जानकारी दिनुभयो । स्वास्थ्य जाँचका क्रममा विद्यार्थीमा कान नसुन्ने आँखाको दृष्टि कम देख्ने कुपोषणलगायतका रोग फेला परेको बताइएको छ ।

प्रतिक्रिया