श्रीमान्लाई हत्कडी बाँधेर राख्न परेपछि छोराछोरीको बिचल्ली

इनेप्लिज २०७२ चैत १३ गते ५:५० मा प्रकाशित

गौशाला, १३ चैत । महोत्तरी जिल्लाको विजलपुरा गाविस–१ बस्ने भागकुमारी देवीले आफ्नै श्रीमान्लाई विगत तीन वर्षदेखि हत्कडी बाँधेर राखेकी छिन् ।

श्रीमान् मानसिक रोगी भएका कारण हत्कडी लगाउनु परेको उनी बताउँछिन् ।

विजलपुरा गाविस–१ का ३३ वर्षीय श्रीमानु बलिराम सिंह विगत १० वर्षदेखि मानसिक रोगी रहिआएका छन् । तीन वर्षअघिदेखि घरीघरी आक्रामक बन्ने, आवेगमा आएको बेला अरुलाई लखेट्ने, कुटपिट गर्ने, ढुङ्गा फाल्ने जस्ता क्रियाकलाप गर्न थालेपछि उनलाई हत्कडी लगाएर राख्न परेको श्रीमती भागकुमारीले बताइन् ।

उनका अनुसार मानसिक रोगी श्रीमान्ले ६० वर्षीय ससुरा खेहरु सिंहलाई लठ्ठी प्रहार गरी टाउको फुटाइ दिएको र टोल छिमेकमा विभिन्न उपद्रो गर्न थालेपछि नचाहेर पनि यसो गर्नुपरेको हो ।
एक बिगाहा जग्गा बेचेर र रु तीन लाख कर्जा लिएर दुई वर्षअघि उनको उपचारमा रु १० लाख खर्चिसकेको पनि भागकुमारीले बताइन् ।

घरमा अर्को पुरुष अभिभावक नभएको र बुबा पनि उनकै लठ्ठी प्रहारबाट बिरामी रहेकाले तीन छोरी र एक छोराको लालनपालन गर्न भागकुमारीलाई अहिले निक्कै समस्या भइरहेको छ ।

प्रतिक्रिया