हरियो चियापत्ती टिप्न सुरु

इनेप्लिज २०७२ चैत ११ गते १०:३६ मा प्रकाशित

ilam-tea-farmingइलाम, ११ चैत । जिल्लाका किसानले हरियो चियापत्ती टिप्न सुरु गरेका छन् ।

हरियो चियापत्ती टिप्न थालेसँगै जिल्लाका अधिकांश ठूला र साना कारखानाले प्रशोधन थालेका छन् । उत्पादनको पहिलो मौसमको चिया गुणस्तरका हिसाबले अब्बल मानिन्छ भने उक्त चियाको मूल्य उच्च हुन्छ ।

जिल्लाको साँखेजुङका हिमालयन साङ्ग्रिला, साकिरा, मिष्टभ्यालीलगायतका कारखानाले पत्ती टिपाइसँगै प्रशोधनको काम थालेको केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले बताउनुभयो । यस्तै जिल्लाका चिलिमकोट, कन्याम, इलाम चिया बगानलगायतका अन्य निजी बगानमा मजदुरले पत्ती टिप्न सुरु गरेका छन् ।

कारखानाले प्रशोधन थाले पनि मूल्य तोकेका छैनन् । अर्थोडक्स चिया उत्पादनका लागि अग्रणी यो जिल्लाका किसानले वार्षिक ३५ देखि ४० लाख किलो तयारी चिया उत्पादन गर्दै आएका छन् । जिल्लामा २४ वटा ठूला र ३९ वटा साना कारखानालाई १२ हजारभन्दा बढी किसानले हरियो चियापत्ती बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया