बुद्धधर्मले समान अवसर दिन्छ: बुद्धधर्मकी गुरुमा

इनेप्लिज २०७२ चैत १० गते २:५५ मा प्रकाशित

काठमाडौँ, १० चैत । जहानियाँ राणाशासनको कठोर प्रतिबन्धका बीच बुद्धधर्मको अध्ययन, अनुसन्धान तथा उत्थानमा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्दैै आउनुभएका धर्मकीर्ति विहारका अध्यक्ष धम्मावती गुरुमा अझै बुद्ध दर्शन तथा ज्ञानको खोजीमा जुटिरहनुभएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सम्मानित व्यक्तित्व बौद्धविद्वान गुरुमाले बौद्घधर्ममाथि त्यसबेलाको सरकारले गरेको कडा प्रतिबन्धलाई तोड्दै जङ्गलको बाटो हुँदै २००६ सालमा हालको म्यान्मार (बर्मा) पुगेर बुद्धधर्मको गहन अध्ययन गर्नुभएको हो ।

गुरुमासँग बुद्धधर्मसम्बन्धी शिक्षादीक्षा ग्रहण गर्नुभएका बर्माका प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीले उहाँलाई गुरुका रुपमा आदर गर्नुहुन्छ ।

बौद्वधर्मका ज्ञाता गुरुमाले हालसम्म बौद्धधर्मसम्बन्धी ४० वटा पुस्तक लेखिसक्नुभएको छ भने धर्मकीर्ति विहारबाट मात्र १०० भन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन् । उनका उत्कृष्ट पुस्तक ‘योम्ह म्हाय्’ उपन्यास हो ।

विसं १९८९ मा ललितपुरको रुद्रवर्ण महाविहारमा पिता हर्षरत्न शाक्य र आमा हेराथकुँ शाक्यको कोषबाट जन्मनुभएका नेपालका अग्रणी भिक्षुणी धम्मावती गुरुमाले विसं २००६ मा भारतको कुशीनगरमा प्रबज्या लिनुभएको हो । उहाँ अमेरिकास्थित एक विशाल बौद्व विहारमा भिक्षुणी बन्नुभएको हो ।

नेपालकै ज्येष्ठ भिक्षुणी गुरुमाले भन्नुभयो–“मानिस–मानिसबीच रहेको स्वार्थपूर्ण व्यवहार तथा भेदभाव गर्ने प्रवृत्ति समाज परिवर्तनका लागि चुनौतीपूर्ण छ । बौद्घ, हिन्दू, मुस्लिम हरेक धर्मभित्र स्वार्थपूर्ण प्रवृत्ति छ । जबसम्म मानिसको भित्री हृदयमा बसेको स्वार्थ हटाउन सक्दैन, तबसम्म मानवजातिको कल्याण हुँदैन ।”

बौद्धधर्ममा महिलाको उत्थानमा प्रशस्त स्थान छ । यस धर्ममा महिला र पुरुषबीच कतै पनि विभेद हुँदैन । पुरुष र महिलालाई समान व्यवहार हुने भएकाले बौद्धधर्ममा पुरुषसरह महिलालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर हुन्छ । यहाँ ठूलो जात र सानो जात भन्ने भेदभाव हुँदैन । जुन अरू धर्ममा पाउँदैन ।

उहाँले हरेक मानिसले बुद्धधर्मसम्बन्धी सारतत्व बुझ्न एकपटक त्रिपिटकको अध्ययन गर्नुपर्ने सुझाव दिँदै त्रिपिटकभित्र रहेको बुद्धधर्मसम्बन्धी कथाहरुको सङ्ग्रह सुत्तपिटक, अनुशासनसम्बन्धी व्याख्या गरिएको विनयपिटक र मानिसको चित्तसम्बन्धी वर्णन गरिएको अभिधम्मपिटकको अध्ययनबाट मानिसले ठूलो लाभ लिन सक्ने औँल्याउनुभयो । ८२ वर्षको उमेरमा पनि क्यान्सरबाट पीडित गुरुमाको सरल स्वभाव, स्पष्ट वक्ता र सद्व्यवहारका कारण विहारमा आउने बौद्ध धर्माबलम्बी, उपासक, उपासिका तथा श्रद्धालुको श्रद्धाको केन्द्र हुनुहुन्छ ।

प्रतिक्रिया