रत्ननगर ९, चैत्र ।
चितवनको लोथर – ९, बाङसिलिङ घर भई हाल आशा अस्पताल भरतपुरमा स्टाफ नर्स अध्ययनरत मेरी चेपाङ्गलाई आर्थिक सहयोग भएको छ । विपन्न परिवारको चेपाङ्गलाई नवलपरासीको त्रिवेणी घर भई रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत अच्युत श्रेष्ठले उनको अध्ययनको लागि रु. २५ हजार ७८ रुपैया सहयोग उपलब्ध गराएका हुन् । सामाजिक सञ्जाल (फेसबुक) मा आर्थिक अभावको कारण अध्ययन गर्न समस्या भएको जानकारी पाई आर्थिक सहयोग उपलब्ध गराएको श्रेष्ठले बताए ।
श्रेष्ठले उपलब्ध गराएको रकम पूर्वी चितवनको रत्ननगरमा रहेको गाँमवेशीको चेपाङ्ग संरक्षण केन्द्रमा आयोजित एक कार्यक्रममा केन्द्रका अध्यक्ष केपी किरण शर्मा, पञ्चतेज ज्योती रा.प्रा.वि. का प्राचार्य राम बहादुर मगर र नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद् विमल खतिवडाले मेरी चेपाङ्ग रगीतामाया चेपाङ्गलाई हस्तान्तरण गरेका थिए । स्टाफ नर्स दोश्रो वर्षमा अध्ययनरत मेरी चेपाङ्गको अध्ययन पूरा गर्न ६ लाख रुपैया लाग्ने मेरीकी आमा गीतामाया चेपाङ्गले बताईन् । गत वर्ष कान्तिपुर दैनिकमा आर्थिक अभावको कारण अध्ययन गर्न नपाएको समाचार प्रकाशित भएपछि त्रिवेणी बैंक भरतपुरले विना धितो २ लाख रुपैया शैक्षिक ऋण उपलब्ध गराएको उनले बताईन् । विपन्न परिवारको कुनै आम्दानीको श्रोत पनि नभएकोले मासिक ब्याज तिर्न समेत धौ–धौ परेको गीतामायाले बताईन् ।
उनलाई सहयोग गर्न चाहनेले गीतामायाको फोन नम्बर ९८४५६७६७९९ मा सम्पर्क गर्न समेत अनुरोध गरिन् ।
प्रतिक्रिया