नगरको फोहर उठाउँदै सहकारी

इनेप्लिज २०७२ चैत ५ गते १:५४ मा प्रकाशित

बागलुङ, ५ चैत । बागलुङ नगरक्षेत्रको फोहर व्यवस्थापनको जिम्मा यहाँको एक सहकारीले लिएको छ । गत वर्ष खुलेको धवलागिरि फोहरमैला व्यवस्थापन तथा सरसफाइ सहकारीले त्यस्तो जिम्मा पाएको हो ।

बागलुङ नगरपालिका कार्यालय र सहकारीबीच फोहर सङ्कलन र व्यवस्थापनसम्बन्धी दुईपक्षीय सम्झौता भएको छ । सहकारीले विगत १० महिनादेखि निःशुल्क रुपमा नगरको फोहर व्यवस्थापनमा सघाउँदै आएको थियो । सहकारीका अध्यक्ष सुधीर श्रेष्ठले नगरपालिकालाई सरसफाइमा नुमना बनाउने बताउनुभयो ।

यसअघि नगरपालिका आफैँले फोहर व्यवस्थापनको काम गर्दै आएको थियो । फोहर व्यवस्थापनमा प्रयोग हुँदै आएका दुईवटा सवारी र ६ जना कर्मचारीसमेत सहकारीलाई हस्तान्तरण गरिएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार पूर्ण सरसफाइयुक्त नगरपालिका बनाउन सहकारीमार्फत काम सुरु गरिएको हो । “अबदेखि फोहर नउठ्ने वातावरण सिर्जना हुन दिन्नौँ, नगरलाई स्वच्छ बनाउन हामी मिलेर सहकार्य गर्छौं”, अधिकृत अधिकारीले भन्नुभयो । उहाँले सरकारले सबैतिर टेक्ने होइन, देख्ने हो भन्ने अवधारणाबाट फोहर व्यवस्थापनको जिम्मा सहकारीलाई लगाएको बताउनुभयो ।

समयमा फोहर उठ्न नसकेको र सार्वजनिक बिदाका दिनमा काम नभएको भन्दै नगरवासीबाट गुनासो आउने गरेको थियो । सहकारीले बिदाका दिनमा पनि फोहर उठाउने प्रतिबद्धता जनाएको छ । सहकारीलाई दिइएको सवारीका लागि इन्धन र कर्मचारीको तलब भने नगरपालिकाले नै व्यहोर्ने जनाइएको छ । त्यसबाहेक अन्य व्यवस्थापन खर्चका लागि नगरपालिकाले सहकारीलाई आगामी असार मसान्तसम्मका लागि पाँच लाख ७६ हजार ५०० रुपैयाँ दिने सम्झौता भएको छ ।

सो रकम सवारी पार्किङ, ल्यान्डफिल्ड साइट व्यवस्थापन, सञ्चार, कार्यालय व्यवस्थापनमा खर्चन पाइने प्रावधान राखिएको छ । पहिलो चरणमा पाँच महिनाका लागि सम्झौता भए पनि सहकारीले पाँच वर्षसम्म फोहर व्यवस्थापनको जिम्मा लिएको हो । हरेक वर्ष असार मसान्तमा सम्झौता नवीकरण गर्दै जाने विनियम पनि बनाइएको छ ।

स्थानीय स्वायत्त ऐन, सार्वजनिक खरिद ऐन तथा आर्थिक नियमावलीलाई पनि सम्झौतामा उल्लेख गरिएको छ । नगरस्तरीय राजनीतिक दलको संयन्त्रले पनि सहकारीलाई जिम्मा दिने कुरामा सहमति जनाएको छ । सहकारीले फोहरलाई सिसाजन्य, प्लास्टिकजन्य र कुहिने फोहर गरी तीन भागमा छुट्याएर व्यवस्थापन गर्ने योजना बनाएको छ ।

कुहिने फोहरबाट मल बनाउने, सिसाको उचित व्यवस्थापन गर्ने र प्लास्टिकजन्य फोहरलाई नष्ट गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । सहकारीसँग यसअघि नै रहेको एउटा र नगरपालिकाबाट प्राप्त दुई गरी तीन सवारी फोहर सङ्कलनमा प्रयोग हुनेछन् । फोहरको उचित व्यवस्थापन र विसर्जनका लागि नगरपालिका कार्यालयले ९० लाख खर्चेर डम्पिङ साइट निर्माण गरेको छ ।

प्रतिक्रिया