बागलुङ, १ चैत । यहाँको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा पछिल्लो आठ महिनाको अवधिमा रु ५० लाख बढी भेटी उठेको छ ।
मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार गत साउनदेखि फागुन अन्तिम सातासम्ममा रु ५० लाख ५० हजार ९७० सङ्कलन भएको हो ।
वार्षिक पूजाआजा ठेक्कामा दिँदा हुने आम्दानीभन्दा कम अवधिमा बढी भेटी सङ्कलन भएको हो । अघिल्लो वर्षसम्म समितिले ठेक्का प्रणालीबाट पूजा सञ्चालन गर्दै आएको थियो ।
वार्षिक पूजाबापत गत वर्ष ठेकेदारले मन्दिरलाई रु ४१ लाख बुझाएका थिए । चालु आवदेखि भने समितिले ठेक्का प्रणाली हटाएर आफैँले दैनिक पूजाआजा सञ्चालन र व्यवस्थापन गर्दै आएको छ ।
भक्तजनले मन्दिरमा चढाएको नगददेखि मुढ, परेवा, चामल–अक्षताको रकम पनि भेटी स्वरुप राख्ने गरिएको छ ।
“मन्दिरको पूजाआजा व्यवस्थापन समितिले आफैँ लिएपछि आम्दानी÷खर्चको दैनिक तथ्याङ्क/विवरण राख्न थालेका छौँ” समितिका अध्यक्ष राजु खड्काले भन्नुभयो ।
मुलुकको राजनीतिक अवस्था र नाकाबन्दीका कारण मन्दिरमा आउने भक्तजनको सङ्ख्या पनि घटेकाले आम्दानी आँकलन गरिएअनुसार नभएको समितिले जनाएको छ । प्रतिकूल परिस्थितिमा पनि मन्दिरमा हुने नियमित चहलपहल भने नघटेको समितिका अध्यक्ष खड्काको भनाइ छ ।
मन्दिरको कुल वार्षिक आम्दानीको दस प्रतिशत रकम केन्द्रीय गुठी संस्थानलाई बुझाउने गरिएको छ । समितिको कोषमा रु एक करोड जति रकम मौज्दात रहेको जनाइएको छ । मन्दिरमा भेटी, दानबाहेक अन्य बहुमूल्य धातु, घण्ट, गजुरलगायतका जिन्सी सामान पनि भक्तजनले चढाउने गरेका छन् ।
प्रतिक्रिया