प्रसङ्ग नारी दिवस: प्रतिभा खुम्च्याउन बाध्य बालिकाहरु

इनेप्लिज २०७२ फागुन २५ गते ३:४२ मा प्रकाशित

बेनी (म्याग्दी), २५ फागुन । म्याग्दीका ग्रामीण भेगका नौदेखि १७ वर्षसम्मका अधिकांश बालिका घाँस–दाउरा, मेला–पात र घरधन्दामा व्यस्त रहनुपर्ने बाध्यताले आफ्नो सीप र प्रतिभालाई सदुपयोग गर्ने अवसरबाट वञ्चित रहेका छन् ।

नेपालमा मंगलबार अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा म्याग्दीको सदरमुकामदेखि टाढाका विकट गाउँको त कुरै छोडौँ सदरमुकामसँगै जोडिएका गाउँका बालिका पनि आर्थिक अभावका कारण घरेलु काम र निकृष्ट श्रम गर्नुपर्ने बाध्यताले आफ्नो प्रतिभालाई खुम्च्याउन बाध्य भएका छन् ।

नृत्य र गायनमा रुची भएकी, केही सांस्कृतिक कार्यक्रममा भाग लिई पुरस्कृतसमेत भएकी तोराखेतकी १३ वर्षीया सिमाना विक, चित्रकलामा सम्भावना बोकेकी बगरफाँटकी नौ वर्षीया पुष्पा सापकोटा, नाच्न मन पराउने तर घरको कामबाट कहिल्यै फुर्सद नपाउने वरञ्जाकी १६ वर्षीया नम्रता थापा आफूमा प्रतिभा र रहर हुँदाहुँदै पनि गरिबीका कारण मनभित्र नै गुम्स्याएर घाँस, दाउरा र घरधन्दामा सीमित हुनुपरेको बताउँछन् ।

बिहान–बेलुका घरको धन्दा गरेर दिउँसो विद्यालय जाने गरेका यी बालिका प्रशस्त सम्भावना बोकेका ग्रामीण प्रतिनिधि बालिकाहरु हुन् । यस्ता दर्जनौँ बालिका आफ्नो घरको काम र अभिभावकको बेवास्ताका कारण आफ्नो प्रतिभालाई आफूभित्र नै खुम्च्याँउन बाध्य वनेका अर्जुन उच्च माविका शिक्षक नवीन घिमिरेले बताउनुभयो ।

घर र विद्यालयमा बालमैत्री वातावरण नहुँदा र बाल मनोविज्ञानलाई अभिभावक तथा शिक्षकले नबुझिदिँदा कैयौँ प्रतिभावान् बालिका बाध्यता र लज्जाबोधका कारण खुलेर आफ्नो प्रतिभा प्रदर्शन गर्न नसक्ने अवस्थामा रहेका बुद्ध एकेडेमी बगरफाँटका शिक्षक लक्ष्मण रोकाले बताउनुभयो ।

“बालिका (किशोरी)हरुको मनमा स्वाभाविक रुपमा रुमानी कल्पना र शैलानी रहरहरु हुने गर्दछन्, ती कल्पना र रहरलाई अभिभावक र शिक्षकले सकारात्मक रुपमा लिइदिएर राम्रा कुरामा प्रोत्साहित गर्न सक्ने हो भने उनीहरुले आफ्नो प्रतिभालाई उजिल्याउन सक्छन्”, शिक्षक रोकाले भन्नुभयो ।

यसैगरी, म्याग्दीका ग्रामीण भेगका बालिका निकृष्ट श्रम गर्नसमेत बाध्य भएको पाइएको छ । घरको कमजोर आर्थिक अवस्था र अभिभावकको कमजोरीका करण उनीहरु निकृष्ट श्रम गर्न बाध्य भएका हुन् ।

म्याग्दीमा १०० भन्दा बढी बालिका निकृष्ट श्रम गर्न बाध्य भएको अनुमान गरिएको भए पनि यकिन तथ्याङ्क भने कुनै निकायसँग पनि रहेको छैन ।

महिला तथा बालबालिका कार्यालय म्याग्दीले बालिकाहरु घरायसी काममा बढी व्यस्त हुने गरेको बताएको छ भने बालबालिकाको क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था रिक म्याग्दीले करिब १०० जना बालिका निकृष्ट श्रम गर्न बाध्य भएका जनाएको छ ।

प्रतिक्रिया