आसेन्टा मेलाका विषयमा उठेका भ्रमहरुका सन्दर्भमा

इनेप्लिज २०७२ फागुन २१ गते ०:०४ मा प्रकाशित

प्रश्न नं. १: आर्थिक आय-व्ययको बिवरण।

 

तपाईंको जानकारीका लागि सन २०१३ को आसेन्टा मेलाको आय-व्यय विवरण यसैसाथ प्रस्तुत गरिएको छ। यस विवरण अनुसार उक्त मेला आयोजना गर्दा १४ ०११.८ यूरो घाटामा गएको थियो। मेला आयोजना गर्दाको खर्च र खर्च अपुग भएमा त्यसको पूर्ति नेपाल उद्योग बाणिज्य महासंघले गर्ने भन्ने मौखिक सम्झौता भएअनुसार मेला सफलताका साथ सम्पन्न भैसके पश्चात महासंघलाई उक्त अपुग रकमका लागि पटक-पटक मेल लेखिएको समेत जानकारी गराउँदछु। मेलका प्रतिलिपीहरु मसंग अझै सुरक्षित छन्।

 

प्रश्न नं. २: सहभागी हुन आउने ब्यापारीहरुले आफूहरुले बढी रकम तिरेको र यहीँ बस्ने उद्देश्यले सो गरेको भनेकोले त्यो बढी भनिएको रकम कसले कसरी प्रयोग गर्‍योभन्ने बारे

उक्त मेलामा सहभागी हुन नेपालबाट आउनु भएका सबैको छनौट र भिसा प्रकृयामा मेरो कुनै संलग्नता र जिम्मेवारी नरहेको सन २०१३ देखि नै स्पष्ट पार्दै आएको छु र पुन: स्पष्ट पार्न चाहन्छु। बेल्जियममा रहेर आसेन्टा मेला सम्पन्न गर्न मेरो भूमिका केन्द्रित थियो र त्यसमा हाम्रो टीम-वर्कले सफलता पायो। मेलाका सहभागीहरूको चयन र बेल्जियम पठाउने प्रकृया नेपाल उद्योग बाणिज्य महासंघको जिम्मेवारी थियो र त्यो प्रकृयामा मेरो कुनै संलग्नता रहेको थिएन। महासंघले ति सहभगीहरुको छनौटकालागि कान्तिपुर दैनिकमा विज्ञापन समेत प्रकाशित गरेको थियो।  महासंघले सोझै IJV-IFAS लाई पठाएको नाम लिष्ट अनुसार (ति महासँघद्वारा छानिएका व्यक्तिहरुको लागि) आसेन्टा मेला (IJV-IFAS) ले नैनिमन्त्रणा पठाएको जानकारी गराउँदछु। उक्त महासंघको विज्ञापनको प्रतिलिपी रIJV-IFAS ले पठाएको निमन्त्रणाका प्रतिलिपीहरु तपाईंको जानकारीका लागि यसैसाथ संलग्न गरिएको छ। ति व्यक्तिहरु कुन मापदण्ड अनुसार छनौट भए वा तिनले  के-कति रकम के-कस्ता आश्वासन र उद्देश्यका लागि कसलाई तिरे, यसका बारेमा म अनभिज्ञ छु। मैले कुनै पनि व्यक्तिलाई बेल्जियम वा यूरोप बसाउने आस्वासन नदिएको र कसैसंग गैर-कानुनी रुपमा पैसा नलिएको स्पष्ट पार्न चाहन्छु। ति सहभागीहरुसँग ज्यादा रकम असुलिएको बारे म अनभिज्ञ रहेकाले यदि त्यसरी गैर-कानुनी रुपमा रकम असुलिएको भए त्यो कसले असुल्यो र कसले कहाँ प्रयोग गर्यो भन्नेमा मलाई कुनै जानकारी नरहेको स्पष्ट पार्न चाहन्छु। पिडितहरुलाई सोझै सम्बन्धित देशको सम्बन्धित निकायमा उजुरी हाली न्यायका लागि पहल गर्न समेत सल्लाह दिन चाहन्छु। पिडितहरुलाई यस संबन्धमा मेरो पूर्ण सहयोग रहने समेत जानकारी गराउँदछु।

प्रश्न नं. ३: अन्य तपाईंलाई यस विषयमा प्रस्ट पार्नु पर्ने भए।  

 

सन २०१३ मा बेल्जियममा आयोजित आसेन्टा मेलाका विषयलाई लिएर फेरि नियोजित तवरले र नियतबश मेरो मानहानि हुने गरी केहि अनलाईन र सोसल मिडियामा समाचारहरु प्रकाशित भएका छन्। यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यस सन्दर्भमा सन २०१४ मा नै मैले एक विज्ञप्ति जारी गर्दै यस संबन्धमा स्पष्ट पारेको थिएँ। उक्त मेलामा सहभागी हुन नेपालबाट आउनु भएका सबैको छनौट र भिसा प्रकृयामा मेरो कुनै संलग्नता र जिम्मेवारी नरहेको पटक-पटक स्पष्ट पार्दै आएको छु। बेल्जियममा रहेर आसेन्टा मेला सम्पन्न गर्न मेरो भूमिका केन्द्रित थियो र मेलाका सहभागीहरूको चयन र बेल्जियम पठाउने प्रकृया नेपाल उद्योग बाणिज्य महासंघको जिम्मेवारी थियो र त्यो प्रकृयामा मेरो कुनै संलग्नता रहेको थिएन। तर, मेरो कुनै संलग्नता नरहेको कुरालाई पटक पटक उठाई मेरो बदनाम गराउन केही व्यक्तिहरुको नियोजित दुस्प्रयास रहेको मैले पाएको छु। सन २००९ देखि बेल्जियममा विभिन्न सघं-सस्थामा संलग्न रही प्रवासी नेपाली समाजको हितमा मैले खेलेको भूमिका जगजाहेर छ। म एक पारिवारिक व्यक्ति हुँ। मेरो परिवार र बालबच्चा कै ईज्जत र छविमा नकारात्मक असर पर्ने गरी आधारहिन एंव भ्रामक समाचार प्रकाशित नगरिदिनु हुन म सबैमा हार्दिक अनुरोध गर्दछु।

मैले माथि नै उल्लेख गरेको छु, पिडितहरुले सम्बन्धित निकायमा स-प्रमाण आफ्नो बयानसहित उजुरी गरेर न्याय पाउन सक्छन्। कानूनी उपाय नै न्याय पाउने विश्वासिलो आधार हो। त्यो बाटो नअपनाई मिडियाबाजी मात्रै गर्ने र व्यक्तिविशेषको बदनाम गर्न खोज्नेहरूका बारेमा तपाईंहरूले ध्यान दिई कलम चलाउनु हुनेछ भन्ने आशा लिएको छु। आधारहिन एंव भ्रामक आरोपले नेपाल र नेपाली समाजको हितमा समर्पित हुँदै समाजसेवा गर्न चाहने ब्यक्तित्वहरुलाई निरुत्साहित गर्दै समाजलाई नै बेफाईदा गर्नेमा पनि सबैको बिनम्र ध्यानाकर्षण गराउन चाहन्छु। समाज सेवा, व्यक्तित्व विकास र उद्यमशिलता नै मेरो जीवनमा रूचिका विषय हुन्। यी आधारहिन एंव भ्रामक आरोपले समाजसेवामा निरन्तर लागि रहने मेरो लगावमा कुनै फरक नपर्ने सबै नेपाली दाजुभाई दीदिबहिनी र मेरा शुभेच्छुकहरुलाई विश्वास दिलाउन चाहन्छु।

 

कुनै पनि अनुसन्धानमा मेरो सहयोग रहने विश्वास दिलाउँदै,

अर्जुन कुमार श्रेष्ठ

बेल्जियम

नेपाल उद्योग महासंघको विज्ञापन

उद्योग वाणिज्य महासंघको राजदूतावासलाई भिसा सहजिकरणका लागि पत्र

Document-page-001

प्रतिक्रिया