पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप सुरु

इनेप्लिज २०७२ फागुन १७ गते २:२० मा प्रकाशित

पोखरा, १७ फागुन । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले पाठेघरको मुखको क्यान्सरबाट बचाउन आइतबारदेखि कास्कीका दुई नगरपालिका र ३२ गाविसमा कक्षा ६ मा अध्ययनरत १० वर्षसम्मका किशोरीलाई एचपिभी खोप कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यालयले पोखरा उपमहानगरपालिकाका २८ वटा वडामा आइतबारदेखि २१ गतेसम्म र लेखनाथनगरपालिकाका सबै वडा र ३२ गाविसमा फागुन २२ देखि ३० गतेसम्म सो खोप दिइने कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले जानकारी दिनुभयो ।

एचपिभी खोप तथा पाठेघरको मुखको जाँचजस्ता कार्यक्रम एकैचोटी सञ्चालन गर्ने गरी स्वास्थ्य मन्त्रालयले यसैवर्षदेखि कास्की र चितवन जिल्लामा परीक्षणका रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

कास्की जिल्लाका कक्षा ६ मा अध्ययनरत करिब छ हजार ५०० र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका करिब २०० जना गरी छ ७०० जनाकिशोरीलाई सो खोप लगाइने छ ।

सो उमेरका किशोरी प्रायःजसो विद्यालयमा अध्ययन गर्ने हुनाले जिल्लामा ३४८ विद्यालय र बाहिर रहेकालाई ५५ वटा स्वास्थ्य संस्थामा खोप केन्द्रको व्यवस्था गरिएकोे छ । सो खोप अत्यन्तै महँगो पर्ने र एकजना किशोरीलाई खोप दिँदा करिब १० हजार खर्च हुने वरिष्ठ जनस्वास्थ्य अधिकृत सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यो खोप अभियान सम्पन्न गर्न जिल्लाका ३०० जना स्वास्थ्यकर्मी परिचालन गरिने बताइएको छ ।

प्रतिक्रिया