कञ्चनपुर, १५ फागुन । नेपाल र भारतका संरक्षणकर्मी गिद्धका लागि घातक मानिएको ‘डाइक्लोफेनेक’ औषधि ओसारपसार नियन्त्रण गर्नमा सहमत भएका छन् ।
नेपाल पछी संरक्षण सङ्घले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा शुक्रबार आयोजना गरेको बैठकमा सहभागीले डाइक्लोफेनेक नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गिद्ध संरक्षणको अभियान अघि बढाउन डाइक्लोफेनेकको प्रयोगमा बन्देज लगाइनु पर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए ।
गिद्ध संरक्षण अधिकृत खडानन्द पौडेलले नेपालमा अहिलेसम्म ४६ जिल्ला डाइक्लोफेनेकमुक्त घोषणा भइसकेको बताउनुभयो ।
पशुको दुखाइ कम गराउन प्रयोग गरिने भारतमा निर्मित डाइक्लोफेनेक औषधिको साटो गिद्धका लागि घातक नमानिएका अन्य औषधि प्रयोगमा ल्याइए गिद्ध संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ थियो ।
दुवै देशका संरक्षणकर्मीको संयुक्त बैठकलले संरक्षणका क्षेत्रमा सिकाइका अवसर जुराउने भएकाले यस्ता बैठकको आयोजना उपयोगी हुने शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो । बैठकमा नेपाल र भारतका संरक्षणकर्मीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया