सरकारी चरण खर्कमा भीषण आगलागी

इनेप्लिज २०७२ फागुन २ गते ७:५८ मा प्रकाशित

जिरी, २ फागुन । दोलखाको जिरी नगरपालिका–१ ओर्खेमा रहेको सरकारी चरण खर्कमा शनिबार दिउँसो २ बजेदेखि भीषण आगलागी भएको छ ।

यलुङ खोलाको किनार नजिकैबाट लागेको आगो चरण खर्कमा रहेको वन क्षेत्रमा पसेपछि स्थानीयवासीले निभाउने प्रयास गरे पनि आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । ओर्खे चरण खर्काको आधा भूभाग घाँसे मैदानका रुपमा फैलिएको छ भने आधा भूभाग वन क्षेत्रमा रहेको थियो । विशेषगरी वन क्षेत्रमा सल्लो जातका रुख बाक्लो रहेको र सल्लाको पतकरमा आगो सल्किएपछि नियन्त्रणभन्दा बाहिर गएको हो ।

आगो कसरी, कसले र किन लगाएको भन्नेमा स्थानीयवासी पनि अन्योलमा छन् । केही स्थानीयवासीले भने दिउँसा गोठालो गएका बालबालिकाले वनमा आगो खेल्ने क्रममा हुरी बतासले उडाएर वन क्षेत्रमा पसी आगलागी भएको हुन सक्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया