नेता खड्काद्वारा कोइरालाको निधनमा समवेदना

इनेप्लिज २०७२ माघ २८ गते १:३१ मा प्रकाशित

काठमाडौँ, २८ माघ । नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् केन्द्रीय सदस्य खुमबहादुर खड्काले पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

नेता खड्काले बुधबार जारी गर्नु भएको विज्ञप्तिमा कोइरालाको असामयिक निधनको खबरले आफूलाई स्तब्ध बनाएको छ भनिएको छ ।

पार्टी सभापति कोइराला नै प्रधानमन्त्री भएका बेला संविधानसभाबाट जनताले संविधान पाएकाले मुलुक र जनताले उच्च मूल्याङ्कन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनका लागि भारतदेखि एकसाथ राजनीति गरेको स्मरण गर्दै खड्काले सहयात्री राजनीतिज्ञ गुमाउनु पर्दा आफूलाई अपूरणीय क्षति महसुस भएको बताउनुभएको छ ।

उक्त विज्ञप्तिमा दिवङ्गत कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।

प्रतिक्रिया