प्यूठानमा वकिलबिना मुद्दा लिन सुरु

इनेप्लिज २०७२ माघ २६ गते ३:३१ मा प्रकाशित

प्यूठान, २६ माघ । जिल्ला अदालत प्यूठानमा सोमबारबाट वकिलको सहाराबिना पनि निवेदन लेख्ने व्यवस्था सुरु भएको छ । अदालतले सेवाग्राहीको हितका लागि भन्दै ४० प्रकारका निवेदनका ढाँचा निःशुल्क रुपमा वितरण गरी मुद्दा लिने व्यवस्था सुरु गरेको हो । न्यायालयमा छिटो र छरितो सेवा दिनका लागि निःशुल्क निवेदनको व्यवस्था सुरु गरिएको जिल्ला अदालतले जनाएको छ ।

अदालतमा सामान्य लेखपढ गर्न नसक्ने सेवाग्राहीदेखि लेखपढ गर्न सक्ने सेवाग्राहीलाई ध्यानमा राख्दै तीन चरणको निवेदन दिने व्यवस्था सुरु गरिएको अदालतका स्रेस्तेदार तथा सूचना अधिकृत रुद्रमणि गिरीले जानकारी दिनुभयो ।

लेखपढ गर्न सक्ने सेवाग्राहीले आफैँ नमुना फर्ममार्फत निवेदन दिने, नजानेकाहरुलाई अदालतले तोकेको वैतनिक वकिलमार्फत गराउने र दुवै प्रक्रियामा सहज नभए अदालतमा रहेका सहयोगीमार्फत मुद्दाका निवेदन दिने व्यवस्था सुरु गरिएको गिरीले बताउनुभयो ।

अदालतमा आएका सेवाग्राहीलाई छिटो छरितो सेवा दिनका लागि आफैँ निवेदनमार्फत उजुरी गर्ने व्यवस्था मिलाएको छ ।

केन्द्रीयस्तरबाट निःशुल्क मुद्दाको निवेदन लिने विषयमा बार एसोसिएसनसँग सामान्य मतभेद रहे पनि जिल्ला अदालतले सुरु गरेको निःशुल्क निवेदनमार्फत उजुरी दिने कार्यलाई प्रभावकारी बनाउन लागिएको अदालतले जनाएको छ ।

हाल सर्वोच्च अदालतमार्फत देशभरका जिल्ला अदालतमा वकिलबिना नै मुद्दा लिने कार्य सुरु भएको छ ।

प्रतिक्रिया