यातायातका साधन सञ्चालनमा

इनेप्लिज २०७२ माघ २५ गते ५:५९ मा प्रकाशित

लहान, २५ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आमहडतालका कारण विगत ६ महिनादेखि बन्द रहेको सिरहाका यातायातका साधन आज बिहानबाट सञ्चालनमा आएका छन् ।

सगरमाथा यातायात व्यवसायी सङ्घ सिरहाले यातायात सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीहरुले आजबाट पूर्ववत् आफ्ना सवारी साधन सञ्चालन गरेका हुन् । लामो समयपछि यातायात खुलेपछि सर्वसाधारण खुसी भएका छन् भन्ने सिरहाको जनजीवन सहज बनेको छ ।

मधेसी मोर्चाका नेतालाई पटकपटक यातायात खोल्न आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएपछि यातायात सङ्घको निर्णयअनुसार सवारीसाधन सञ्चालन भएको सगरमाथा यातायात सङ्घ सिरहाका सदस्य मोहम्मद सलिम राइनले जानकारी दिनुभयो ।

मधेसी मोर्चाले गरेको बन्दका कारण गत साउन ३० गतेदेखि सिरहामा यातायातका साधन चल्न सकेको थिएन ।

प्रतिक्रिया