कञ्चनपुर, २५ माघ । शुक्लाफाँटा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रका बासिन्दाले छाडा चौपायाका कारण सास्ती खेप्नुपरेको छ ।
छाडा चौपायाले मध्यवर्ती क्षेत्रका बासिन्दाले लगाएको गहुँलगायतका अन्न र तरकारीबाली खाएर नोक्सानी पुर्याउँदै आएका छन् । अनुत्पादक चौपायाहरु स्थानीयवासीले आरक्ष क्षेत्रमा लगेर छाड्ने गरेकाले ती चौपायाले बस्तीमा छिरेर बालीमा नोक्सानी पुर्याउँदै आएको स्थानीयवासी दलजित बोहराले बताउनुभयो ।
स्थानिय बासिन्दाले छाडा चौपाया छाड्नेहरुलाई कारबाहीको माग गर्दै आए पनि कुनै निकायबाट सुनुवाइ हुन सकेको छैन ।
आरक्षमा छाडिने चौपायाले संरक्षित जनावरको घाँसपातलगायतका आहारासमेत खाइदिने भएकाले समस्या उत्पन्न भएको छ ।
चौपायाका कारण संरक्षित जनावरमा सरुवा रोग सर्ने समस्यासमेत उत्तिकै रहेको छ । केही वर्षअघि मात्रै छाडा चौपायाले सारेको खुरेत रोगबाट आरक्षका दर्जनौँ बाह्रसिङ्गाको मृत्यु भएको थियो ।
संरक्षित जनावर जोगाउनका लागि चौपाया नियन्त्रण गरिनुपर्ने भए पनि आरक्ष कार्यालयले यसबारे चासो नराखेको स्थानीयवासी नरेन्द्र चौधरीले बताउनुभयो ।
आरक्षको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने झलारी पिपलाडी नगरपालिकाको पिपलाडी, जोनापुर, रानीपुर, ढकनिया, देखतभूलीको कालागौँडीलगायतका क्षेत्रमा बढी छाडा चौपाया छाडिएका छन् ।
चुरे क्षेत्रका सामुदायिक वनमा समेत अनुत्पादक चौपायालाई लगेर वन क्षेत्रमा रहेका रुखमा बाँधेर आउने र भोक प्यासले चौपायाको मृत्युसमेत हुने क्रम बढेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
पूर्वपश्चिम राजमार्ग क्षेत्रमा समेत केही महिनायतादेखि चौपाया छाड्ने क्रम सुरु भएको छ । जसले गर्दा राजमार्ग क्षेत्र भएर गुड्ने सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् ।
प्रतिक्रिया