क्याम्पस सञ्चालन गर्न आर्थिक समस्या

इनेप्लिज २०७२ माघ २५ गते ५:१४ मा प्रकाशित

Mustang_district_locationमुस्ताङ, २५ माघ । हिमाली जिल्ला मुस्ताङको एकमात्र क्याम्पस जनहित बहुमुखी क्याम्पस सञ्चालन गर्न आर्थिक सङ्कट उत्पन्न भएको छ ।

तीनवर्षअघि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी कक्षा सञ्चालन गरेको क्याम्पसका प्राचार्यको तलब सुविधादेखि भौतिक संरचनाको विकासका लागि आर्थिक समस्या उत्पन्न भएको हो । अहिले क्याम्पसमा व्यवस्थापन सङ्कायतर्फ स्नातक तहको कक्षा सञ्चालन भइरहेका छन् । यहाँ ३० जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

त्रिविले मानविकी र शिक्षा सङ्कायतर्फ अध्यापनका लागि अनुमति दिन तयार भए पनि आर्थिक स्रोतको अभावमा जनशक्तिदेखि भौतिक पूर्वाधार तयार पार्न नसकिएको क्याम्पस प्रमुख रामचन्द्र आचार्यले जानकारी दिनुभयो ।

“क्याम्पसका लागि आवश्यक जग्गा भए पनि भवन निर्माण र प्राचार्यहरुलाई तलब सुविधा दिन रकमको अभाव भइरहेको छ, हामी स्थानीयस्तरदेखि विभिन्न स्थानमा स्रोतको खोजीका लागि भौँतारिरहेका छौँ” – उहाँले भन्नुभयो – “हामीलाई कम्तीमा अहिले दुईवटा भवन र केही रकम चाहिएको छ ।”

विद्यार्थीबाट शुल्क लिएर पनि क्याम्पस सञ्चालन गर्न सम्भव नभएको क्याम्पस सञ्चालक समितिले जनाएको छ । हिमाली जिल्ला मुस्ताङका विद्यार्थी उच्च मावि तहसम्मको अध्ययनपछि माथिल्लो तहको शिक्षा लिन जिल्ला छाडेर जानुपर्ने बाध्यतालाई हटाउन क्याम्पस सञ्चालन गरिए पनि समस्या उत्पन्न भएको बताइएको छ ।

क्याम्पस सञ्चालनपछि गरिब र निमुखा परिवारका विद्यार्थीलाई फाइदा पुगेको सञ्चालक समितिका अध्यक्ष मीनप्रसाद थकालीले जानकारी दिनुभयो । “जिल्लाकै एकमात्र क्याम्पस भएकाले यसलाई नमुना बनाउने चुनौती छ, हामी आर्थिक सङ्कलन अभियानमा लागिपरेका छौँ” – अध्यक्ष थकालीले भन्नुभयो ।

प्रतिक्रिया