कनकाई आर्यघाटमा मलामी विश्रामस्थल र शौचालय निर्माण

इनेप्लिज २०७२ माघ २५ गते ३:३१ मा प्रकाशित

सुरुङ्गा (झापा), २५ माघ । झापाका शिक्षासेवी एक दम्पतीले कनकाई नगरपालिकामा रहेको कनकाई आर्यघाट कोटिहोममा झन्डै रु ५० लाखको लागतमा मलामी विश्रामस्थल र सुविधा सम्पन्न शौचालय निर्माण गर्नुभएको छ ।

कनकाई एजुकेसन फाउन्डेसन, बिर्तामोडका संस्थापक अध्यक्ष जयनारायण ढुङ्गाना र उहाँकी श्रीमती अञ्जना ढुङ्गानाले आर्यघाट परिसरमा विश्रामस्थल र शौचालय निर्माण गर्नुभएको हो । कनकाई एजुकेसन फाउन्डेसनमा कार्यरत प्राध्यापक, शिक्षक तथा कर्मचारीहरुको सहयोग जुटाउँदै आर्यघाटको पूर्वी तटमा एक हजार मलामी बस्न सक्ने विश्रामस्थल र छकोठे सुविधा सम्पन्न पक्की शौचालय निर्माण गरिएको हो ।

नवनिर्मित विश्रामस्थल र शौचालय कनकाई आर्यघाट व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

गाउँलेले बनाए भुतेनी खोलामा पक्की पुल

झापाको गरामनी–८ बद्रीबाडीका स्थानीयवासीले भुतेनी खोलामा पक्की पुल निर्माण गरेका छन् ।
सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त स्रोतलाई परिचालन गर्दै स्थानीयस्तरमा आर्थिक सहयोग र जनश्रमदान जुटाएर पक्की पुल निर्माण गरेका हुन् ।

सरकारीस्तरबाट प्राप्त सहयोगको अलावा स्थानीयस्तरबाट सङ्कलित रकम र स्थानीय बासिन्दाको जनश्रमदानबाट पुल निर्माण सम्पन्न गर्न सफल भएको पुल निर्माण समितिका अध्यक्ष युवराज ओलीले बताउनुभयो ।

स्थानीय गौरीप्रसाद घिमिरेका अनुसार पुल निर्माणका लागि सरकारीस्तरबाट रु चार लाख ५० हजार, गैरसरकारी निकायहरुबाट रु पाँच लाख ७७ हजार र स्थानीय बासिन्दाका तर्फबाट रु तीन लाख ४६ हजार सङ्कलन भएको थियो ।

प्रतिक्रिया