जाजरकोट अस्पतालमा पानीको अभाव

इनेप्लिज २०७२ माघ २५ गते २:४६ मा प्रकाशित

जाजरकोट, २५ माघ । खलङ्गा पाँचकाटिया सडक निर्माण गर्दा खानेपानीको लाइनमा क्षति पुगेपछि यहाँको जिल्ला अस्पतालमा खानेपानीको हाहाकार भएको छ ।

एक हप्तादेखि बिरामीलाई औषधि खुवाउनका लागि एक थोपा पानी नहँुदा निकै समस्या परेको स्वास्थ्यकर्मीले बताएका छन् ।

सुत्केरी भएका कपडा, बिरामीलाई औषधि खुवाउन पानी, अस्पताल सरसरफाइ गर्ने पानी नहुँदा एक हप्तादेखि निकै समस्या भएको अहेब भीमराज सिंहले जानकारी दिनुभयो ।

भेरी नदीको पानी एम्बुलेन्समा ल्याएर अस्पतालमा सरसफाइ गरिने उहाँको भनाइ छ । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पानीको हाहाकार हुँदासम्म सरोकारवाला निकाय आँखा चिम्लेर बस्दा बिरामी आक्रोषित भएका छन् ।

दैनिक अस्पतालमा प्रयोग गरिने कपडा सरसफाइ गर्नुपरे पनि पानीको अभावमा हप्ता दिनदेखि सरसफाइ नगरिएको सिंहले बताउनुभयो । पानीको आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधान नभएको अस्पतालले बताएको छ ।

माथिल्लो डोल्पामा खाद्यान्न ढुवानी भएन

सडक सञ्जालले नछोएको डोल्पामा खाद्यान्न ढुवानीमा समस्या भएको छ । केरुङ नाका खोल्न चीनले स्वीकृति नदिनु र तातोपानी नाका भूकम्पका कारण भत्किएकाले माथिल्लो डोल्पामा खाद्यान्न ढुवानीमा समस्या आएको नेपाल खाद्य संस्थान, डोल्पामा प्रमुख हरिप्रसाद जोशीले जानकारी दिनुभयो । माथिल्लो डोल्पाका सात गाविसमा जेठ र असारमा मात्र खाद्यान्न ढुवानी हुन सक्ने बताइएको छ ।

सडक सञ्जालले नछोएका कारण यहाँ हेलिकप्टरमार्फत मात्र खाद्यान्न ढुवानी गर्नुपर्ने विकल्प रहेको छ । तल्लो डोल्पामा खाद्यान्न ढुवानीका लागि ठेक्का स्वीकृत भइसकेकाले छिट्टै चामल ढुवानी भई वितरण हुने जिल्ला प्रशासण कार्यालय डोल्पाले जनाएको छ । दुनैमा खाद्यान्न ढुवानी भई रासन कार्डका आधारमा खाद्यान्न वितरण सुरु गरिएको छ ।
डोल्पाको जनसङ्ख्या ३६ हजार रहेको छ ।

प्रतिक्रिया