महायज्ञमा केसीले करिब छ लाख दान

इनेप्लिज २०७२ माघ २३ गते ३:२९ मा प्रकाशित

तुलसीपुर (दाङ), २३ माघ । दाङको तुलसीपुरमा बहुआयामिक सुविधा सम्पन्न सभागृह निर्माणका लागि आयोजना गरिएको श्रीमद्भागवत् महापुराण ज्ञानमहायज्ञमा तुलसीपुर–४ टिक्रापातु निवासी यमकुमारी केसीले रु छ लाख ६६ हजार ६६६ दान गर्नुभएको छ ।

सो दान महायज्ञमा अहिलेसम्मकै सबैभन्दा बढी हो । उहाँलाई मूल आयोजक समितिले शुक्रबार चमारेबाजासहित मण्डपसहित महोत्सवस्थलको परिक्रमा गराएको छ । महायज्ञको चौथो दिन शुक्रबारसम्ममा दानपेटिकामा करिब रु ३५ लाख जम्मा भइसकेको आयोजकले जनाएको छ ।

त्यस्तै तुलसीपुरका व्यवसायी जुद्धबहादुर केसी र उहाँकी पत्नी खिमा केसीले रु तीन लाख ११ हजार ५५५, तुलसीपुर निवासी टीकाराम कँडेल र श्रीमती रुमा कँडेलले रु एक लाख पाँच हजार पाँच दान गर्नुभएको आर्थिक समितिका संयोजक उत्तमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सभागृह निर्माणका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घले रु पाँच करोड उठाउने लक्ष्य लिएको छ । माघ २७ गतेसम्म सञ्चालन हुने महायज्ञमा दैनिक विवाह, व्रतबन्ध, चौरासी पूजा, तुलादान, रुद्री, ग्रह शान्तिलगायतका धार्मिक अनुष्ठान कार्य भइरहेको प्रेस संयोजक शरद रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया