पथरी (मोरङ), १९ माघ । मोरङको थलहा र सिध्राहा गाविस जोड्ने जुडी खोलाको काठेपुल जीर्ण भएपछि सर्वसाधारणलाई समस्या भएको छ ।
झन्डै २० मिटर लम्बाइको सो पुलमा प्रयोग गरिएका काठ मक्किएर किलाकाटीसमेत खिया लागेर फुस्किएपछि नाइलनको डोरीले बाँधेर पुल मर्मत गर्ने प्रयास गरिएको छ । जोखिम मोलेर पुल पार गर्ने क्रममा पटक पटक मानिसहरू पुलबाट झरेर दुर्घटनासमेत हुने गरेको स्थानीयवासी प्रेम उराव बताउनुहुन्छ । पुल जीर्ण भएकै कारण यो सडकमा कुनै पनि चार चक्के सवारी साधन चलाउन सकिएको छैन ।
थलहा गाविसभन्दा झन्डै साढे दुई किलोमिटर पूर्वमा रहेको झोराहटबाट विद्यार्थी लिन र पु¥याउन आउने स्कुल बससमेत पारिपट्टिसम्म मात्र आइपुग्ने गरेका शिक्षकहरू बताउँछन् । पुल जीर्ण भएकै कारण यस क्षेत्रका सर्वसाधारण विराटनगर धाउनुपर्दा नयाँ बजारबाट कटहरी हुँदै घुमाउरो र लामो बाटो प्रयोग गर्न बाध्य छन् । एक दशकअघि स्थानीयवासीले निजी स्रोत साधन प्रयोग गरेर काठे पुल बनाएको थलाहा–१ का गोरेबहादुर मगर बताउनुहुन्छ ।
स्थानीयवासी सुधीर माझीका अनुसार गाउँका मानिस बिरामी भएको अवस्थामा छिटो अस्पताल पुग्नुपर्ने भएकाले जोखिम मोलेरै भए पनि पुलबाटै दुई चक्के सवारी तार्ने गरिएका छन् । स्थानीयवासीले पुल मर्मतका लागि पटकपटक बजेट आउने गरे पनि गाविसका प्रतिनिधिले मर्मतमा चासो नदेखाएको आरोप लगाउँदै आएका छन् ।
प्रतिक्रिया