तनहुँका इँटा उद्योग धरासायी,तीनवटा बन्द

इनेप्लिज २०७२ माघ १८ गते ५:५१ मा प्रकाशित

दमौली, १८ माघ । लामो समयदेखि भारतीय नाकाबन्दीका कारण तनहुँ जिल्लाभित्र सञ्चालित इँटा उद्योग धरासायी हुँदै गएका छन् ।

करोडौँ रुपैयाँ लगानी गरेर सञ्चालन गरिएका त्यस्ता इँटा उद्योग इज्जतका लागि पनि चलाउन परिरहेको सञ्चालकहरु बताउँछन् । भूकम्पपछि मारमा पर्दै आएका ती व्यवसायी भारतीय नाकाबन्दीपछि थप मारमा परेका हुन् ।

कच्चा पदार्थको अभावमा इँटा उत्पादनमा समेत कमी आएको र उत्पादित इँटाले समेत राम्रो बजार पाउन नसकेको अस्मिता इँटा उद्योगका सञ्चालक गोविन्दराज पन्तले बताउनुभयो ।

तनहुँमा माछापुच्छ्रे, पोख्रेली, मनकामना, अस्मिता, श्रीराम, होसन्नालगायतका इँटा उद्योगले इँटा उत्पादन गर्दै आएको जानकारी उहाँले दिनुभयो । आर्थिक र कच्चा पदार्थ अभावकै कारण तनहुँ, श्री, जामुने, राम इँटा उद्योग बन्द भएका छन् ।

एक सय ५० रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको अस्मिता इँटा उद्योगले वार्षिक ४५ लाख इँटा उत्पादन गरी रु चार करोडभन्दा बढी आम्दानी गर्दै आएको बताइएको छ । सो इँटा उद्योगमा २०० मजदुर कार्यरत छन् । पाँच वर्षसम्मका लागि लिजमा लिई वार्षिक रु १२ लाख भाडा तिर्दै आएको सञ्चालक पन्तले बताउनुभयो ।

भूकम्पपछि घरसमेत बन्न छाडेकाले व्यवसाय धरापमा पर्दै गएको गुनासो इँटा उद्योगीको छ । तनहुँमा उत्पादित इँटा गुणस्तरीय, टिकाउ र भरपर्दो रहेको दाबी उनीहरुको छ । कास्की, बागलुङ, म्याग्दी, पर्वत, लमजुङ, गोरखा, स्याङ्जालगायतका जिल्लामा यहाँका इँटा खपत हुँदै आएका छन् । ती सबै इँटाभट्टामा गरी एक हजार ५०० बढीले रोजगारी पाएको बताइएको छ ।

प्रतिक्रिया