कावासोती, १८ माघ । बढ्दो सहरीकरणले गर्दा कावासोती नगरमा खानेपानीको आपूर्ति बढ्दै गएपछि यस वर्ष झन्डै रु १२ करोडको नयाँ आयोजना थप गरिएको छ । विसं २०६१ मा सुरु भएको कावासोती साना सहरी खानेपानी आयोजनाले ११ वर्षमै यहाँको खानेपानी आपूर्ति गर्न नसकेपछि नयाँ आयोजना सुरु गरिएको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद भुसालले बताउनुभयो ।
केरुङ्गेखोला, नहर, पूर्वटोला, आन्तरिक बोरिङ, कोइलापानीबाट प्रतिसेकेन्ड ९१ लिटर पानी आपुर्ती भएको कावासोतीमा झण्डै ३५ लाख लिटरको पानीको आबश्यकता देखिएको छ । एसियाली विकास बैंक (एडिबी) को ७० प्रतिशत अनुदान , नगर विकास कोषको २५ प्रतिशत ऋण र उपभोक्ताको ५ प्रतिशत लगानीमा रु ११ करोड ५८ लाख ४२ हजार सात सय ३६ को लागतमा प्रति सेकेण्ड २५ लिटर पानी आपुर्ती गर्ने गरी नयाँ आयोजना शुरु गरिएको अध्यक्ष भुसालले जानकारी दिनु भयो ।
४५० घनमिटरको टंकी मार्फत प्रति सेकेण्ड २५ लिटर पानी दिन्छौं अध्यक्ष भुसालले भने– ‘सबै स्रोतहरुबाट तत्कालको लागि प्रति सेकेण्ड ११६ लिटर पानी आपुर्ती हुन्छ त्यसले ड्राइ सिजन बाहेकका बेलामा पुग्छ’ । ’कावासोती नगरभित्र झण्डै १५ हजार घरधुरी रहेको छ । यो आयोजना मार्फत ५१ हजार जनसंख्याले पिउने पानी पाउछन् ।
नौ महिनामा सक्ने गरी आयोजना शुरु भएकाले पानीको आपुर्ती सहज हुने भएको भन्दै नगरबासी खुसी भएका छन् । यो कावासोती साना शहरी खानेपानी आयोजना नेपालका २९ साना शहरी मध्ये ब्यवस्थापकीय हिसाबले उत्कृष्ट रहेकाले सरकारबाट सम्मान पाएको छ ।
प्रतिक्रिया