पाइप मर्मतपछि पानीको वितरण सुरु

इनेप्लिज २०७२ माघ १७ गते २:२७ मा प्रकाशित

पोखरा, १७ माघ । कास्कीको पुरुन्चौर र हेम्जाबीच पर्ने सेती नदी माथिको झोलुङ्गे पुलमा रहेको २० इन्चको पाइप मर्मतपछि शनिबारदेखि पोखरामा आउने खानेपानीको वितरण सुरु गरिएको छ ।

सो ठाउँको पाइप फुटेर पानी चुहिएपछि मर्मतका लागि गत माघ १० गतेदेखि मर्दीखोलाबाट आउने २० इन्चको पाइपको पानी बन्द गरिएको नेपाल खानेपानी संस्थान शाखा पोखरा शाखाका प्राविधिक अधिकृत दिनेश्वर यादवले बताउनुभयो ।

बीस इन्चको पाइपबाट आउने पानी बन्द गरिए पनि सोही खोलाबाट ल्याइएको १६ इन्चको पाइपबाट भने नियमित पानी आइरहेको थियो । नगर क्षेत्रका बासिन्दलाई छ दिन आलोपालो गरी पानी वितरण गरिएको थियो ।

संस्थानले हाल मर्दीखोलाबाट १६ इन्च र २० इन्चबाट गरी दैनिक चार करोड लिटर पानी पोखरामा ल्याएर वितरण गरिरहेको छ ।

पोखरा नगर क्षेत्रमा हाल दैनिक करिब पाँच करोड लिटर पानीको माग छ । वितरण प्रणाली नमिल्दा र २०÷२५ प्रतिशत चुहावटमा जाने हुँदा मागबमोजिम आपूर्ति गर्न नसकिएको बताइएको छ ।

प्रतिक्रिया