सुदूरपश्चिममा पहिलोपटक छोरीले दिए दागबत्ती

इनेप्लिज २०७२ माघ १६ गते १४:२३ मा प्रकाशित

बैतडी, १६ माघ । पुरानो रुढीवादी परम्परालाई तोड्दै सुदूरपश्चिममै सम्भवतः पहिलोपटक दुई महिलाले आफ्ना बाबुलाई दागबत्ती दिएका छन् ।

बझाङको कफलसेरीका नन्ता बोहरा र मङ्गली बोहराले बाबुलाई शुक्रबार दागबत्ती दिएका हुन् । सुदूरपश्चिममा महिलाले मृत शरीरलाई नछुने परम्परा कायम रहँदै आएको छ ।

कफलसेरी–७ जाजल्लीका अन्नु जाग्रीको बिहीबार ६५ वर्षको उमेरमा मृत्यु भएको थियो । जाग्रीका चार छोरीमध्ये जेठी र माइली छोरीले दागबत्ती दिएको स्थानीय कमल जाग्रीले बताउनुभयो ।

मान्छेको शवलाई नछुने, मलामी तथा चितासम्म जानु हुन्न भन्ने परम्परा कायम रहँदै आएको भएपनि सो कुराको अन्त्य भएको नागरिक समाजका अगुवा धर्मजङ्गबहादुर सिंहले बताउनुभयो ।

बाबुलाई दागबत्ती दिने नन्ता र मङ्गली दुवै महिला विवाहित हुन् । दुवै जनाको विवाह कफलसेरी गाविस वडा नं ६ को एउटै घरमा भएको जनाइएको छ । दुवै जना कान्छो र जेठा भाइसँग विवाह गरेको कमल जाग्रीले बताउनुभयो ।

आफ्ना बुबाको दागबत्ती छोरीले दिएपनि किरिया भने मृतकका कान्छो भाइको छोरा कर्णबहादुर जाग्रीले गर्नु हुने भएको मृतककी श्रीमती जयनादेवी जाग्रीले जानकारी दिनुभयो ।

मृतकका चारवटी छोरी भएको र छोरा नभएपछि छोरासरह छोरीले नै दागबत्ती दिएको समेत उहाँले बताउनुभयो । यो कार्यबाट पुरानो रुढीवादी परम्परा हटाउन र समाजमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया