इटहरीको तालतलैयामा मूर्तिकला कार्यशाला

इनेप्लिज २०७२ माघ ११ गते ९:५८ मा प्रकाशित

इटहरी, ११ माघ । ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागको आयोजनामा पहिलो पटक पूर्वी नेपालको सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं २ र ३ को बीचभागमा रहेको चारकोसे जङ्गल क्षेत्रको तालतलैया क्षेत्रमा हालै एक अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको शुभारम्भ गरिएको छ ।

प्राकृतिक पोखरीहरु रहेको अतिसुन्दर वनक्षेत्रका बहुमूल्य जडीबुटी र तालहरुको बीच भागमा एकापसमा मनोरञ्जन लिन सकिने प्रशस्त भू–भाग रहेको सो तालतलैया क्षेत्रलाई पूर्वकै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्य राखेर ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागले सो कार्यशाला कार्यक्रमको आयोजना गरेको हो ।

इटहरी उपमहानगरपालिकाको शान्तिनगरी सामुदायिक वन र सरस्वती सामुदायिक वन क्षेत्रको बीच भागमा रहेको १९ हेक्टर वन क्षेत्रमा रहेको तालतलैया क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रख्यात तुल्याउनका लागि मूर्तिकला कार्यशालाको स्थानका रुपमा छनोट गरिएको सो विभागका प्रमुख प्राज्ञ धनु याक्खाले जानकारी दिनुभएको छ ।

अत्यन्तै आकर्षक र मनोरम दृष्यहरुको अवलोकन गर्न सकिने तथा पूर्वी नेपालकै वनभोजका लागि सबैको मन परेको स्थानको पहिचान बनाइसकेको तालतलैया क्षेत्रमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला मार्फत यसको महत्व बाहिर उजागर गर्नु कार्यशालाको अर्को महत्वपूर्ण पाटो भएको इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाको भनाइ रहेको छ ।

जापान, जर्मनी, इजरायल, मलेसिया र भारतका ख्यातिप्राप्त मूर्तिकार कलाकारसहित ३० जनाभन्दा बढी कलाकारको सहभागिता रहेको सो १८ दिने अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको सांसद रेवतीरमण भण्डारीले शनिवार उद्घाटन गर्नुभएको हो ।

रु ५६ लाखभन्दा बढीको लागतमा ४० वटा स्वतन्त्र रुपमा विभिन्न कलाकृतिहरु अङ्कित मूर्तिहरुको तयारी हुने सो कार्यशाला इटहरी उपमहानगरपालिका र उद्योग वाणिज्य सङ्घ इटहरीको समेत सहकार्यमा सम्पन्न हुने बताइएको छ ।

प्राज्ञ धनु याक्खाको सभापतित्वमा भएको उद्घाटन समारोहमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष रोहित प्रसार्इं, तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बू, इटहरी उपमहानगरपालिकाका पूर्व प्रमुख सर्वध्वज सावाँलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया