अपाङ्गता भएका परिवारलाई सहयोग जुट्दै

इनेप्लिज २०७२ माघ १० गते ७:५१ मा प्रकाशित

पाँचथर, १० माघ । इम्बुङ–७ कोल्बुङ्का एकै घरका चार जना अपाङ्गता भएका तामाङ परिवारलाई सहयोग गर्ने क्रम बढेको छ ।

चर्को गरिबी र परिवारको १० सन्तानमध्ये चार जना अपाङ्गता भएपछि जीविकोपार्जनमै समस्या भएको समाचार केही हप्ताअघि सम्प्रेषण भएपछि सहयोगीले शनिबार घरमै गएर खाद्यन्नसहित लत्ताकपडा प्रदान गरेका छन् ।

फिदिमको आहालगैरीमा पसल गर्दै आउनुभएका व्यवसायी तथा समाजसेवी खगेन्द्र अर्यालले एक क्विन्टल चामल, एक थान सिसरक, पाँच थान ज्याकेट, राष्ट्रसेवक अइन्द्र तुम्बापोले ५० किलो चामल र समाजसेवी सुवेदीले एक थान सिरक जनसेवा समाज नामक संस्थामार्फत् प्रदान गर्नुभएको हो ।

दीनदुःखीलाई सहयोग गर्नु नै मानवीय धर्म ठानेर जाडोमा न्यानो कपडा र खाद्यन्न सहयोग गरेको दाता खगेन्द्र अर्यालले बताउनुभयो । उहाँले आफूले सहयोग गर्न पाउँदा मन खुसी भएको र आउँदा दिनमा पनि सहयोग गर्दै जाने बताउनुभयो ।

सहयोग प्रदानका लागि संयोजन गर्ने जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले ढुङ्गालाई पूजा गरेर पैसा चढाउनुभन्दा गरिब र असहायलाई सहयोग गर्दा पुण्य मिल्ने हुँदा सहयोग गर्न आग्रह गर्नुभयो ।

यस्तै यसअघि पनि समाचार विभिन्न अनलाइनबाट हेरेपछि नवलपरासीको गैँडाकोट निवासी हाल बेलायतमा रहेका माधव रेग्मीले सहयोगस्वरुप रु पाँच हजार प्रदान गर्नुभएको थियो ।

पोलियो रोगका कारण अपाङ्ग बन्नुभएका खड्गबहादुर तामाङले जाडोमा न्यानो कपडा र खाद्यन्न सहयोग गरेकोमा दाताप्रति आभार व्यक्त गर्नु भएको थियो । तामाङ परिवारमा जेठा छोरा खड्ग र साइली छोरी श्रीमायाँको स्वास्थ्य अवस्था दयनीय छ ।

दुवै वर्षौँदेखि ओछ्यानमै थलिएका छन् । काइला छोरा महेन्द्र र कान्छी छोरी दीलमायाँको पनि पोलियोकै कारण बिस्तारै दुवै खुट्टा सुक्दै गएको छ । दसमध्ये चार सन्तान अपाङ्ग भएपछि बुबा हर्कवीरको मानसिक सन्तुलन गुमेको छोरी दीलमायाँको भनाइ छ । आमा धनमायाँ, माइला बद्री र कान्छा प्रकाशको सहरामा परिवारको गुजारा चल्दै आएको छ ।

प्रतिक्रिया