शीतलहरका कारण जनजीवन प्रभावित

इनेप्लिज २०७२ माघ १० गते ५:५८ मा प्रकाशित

महेन्द्रनगर (धनुषा), १० माघ । शीतलहरका कारण धनुषासहित मध्य तथा पूर्वी तराईको जनजीवन प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभाग जनकपुरका अनुसार शनिबारको अधिकतम तापक्रम १८.० डिग्री सेल्सियस र न्युनतम तापक्रम १३.८ डिग्री सेल्सियस भई शीतलहर लागेसँगै चिसोले सधैंँ भिड लागिरहने प्रशासनिक कार्यालयमा समेत सेवाग्राहीको सङ्ख्या न्यून देखिन थालेको छ ।
आज बिहानैदेखि तुसारो पर्न थालेका कारण बिहानी कक्षामा विद्यालय पढ्ने बालबालिका समेत प्रभावित भएका छन् ।

चिसोले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । दिनभर चल्ने शीतलहर र हुस्सुका कारण सर्वसाधारण घरमै समय बिताउन बाध्य भएपछि सडक, बजार सुनसान देखिएको छ ।

लामो बन्दीले कष्टकर जीवनयापन गर्दै आएका धनुषावासीलाई दुई दिनदेखि एक्कासि बढेको चिसोले थप पिरोल्न थालेको छ ।

बाक्लो हुस्सु, पश्चिमी स्याँठ, बाक्लो तुसारो र दुई दिनदेखि घाम नै नउदाएपछि धनुषामा न्युनतम तापक्रम तल झरेर यहाँका सहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बन्न थालेको हो ।

पुसको दोस्रो सातासम्म शीतलहर र चिसोले धनुषावासीलाई सताए पनि पछिल्ला दिनमा दिउँसो नियमित घाम लाग्न थालेकापछि सर्वसाधारणलाई यसवर्ष जाडो सजिलैसँग कट्ने महसुस भएको थियो ।
बिहानैदेखि लाग्ने बाक्लो हुस्सुले दिउँसो पनि सडक अध्यारो देखिएपछि सडकमा मोटरसाइकल, ठेलागाडा, बैलगाडी, तीनपाङ्ग्रे रिक्सालगायत यातायातको साधन सञ्चालनमा कठिनाई हुने गरेको चालक बताउँछन् ।

प्रतिक्रिया