दादुरा फैलियो, एक बालिकाको मृत्यु

इनेप्लिज २०७२ माघ ८ गते १२:४३ मा प्रकाशित

इनरुवा, ८ माघ । सुनसरीको देवानगन्ज गाविसमा दादुराको प्रकोष फैलिएको छ ।

लगातार बढेको चिसोको कारण सीमावर्ती क्षेत्र देवानगन्ज गाविस–३ को सदा बस्तीमा दादुराको प्रकोष देखिएको हो ।
छिमेकी मुलुक भारतबाट पाहुनाका रुपमा आएका बालबालिकाबाट सो क्षेत्रमा बालबालिकामा दादुराको प्रकोप फैलिएको र सोबाट २५ घरका ३० जना बालबालिका प्रभावित भएको जिल्ला जनस्वाथ्य कार्यालय सुनसरीका जनस्वास्थ्य निरीक्षक राजनारायण मण्डलले जानकारी दिनुभयो ।

दादुराको प्रकोपका कारण चार दिन अगाडि देवानगन्ज–३ का महेन्द्र ऋषिदेवका तीन वर्षीया छोरी रेखा ऋषिदेवको मृत्यु भएको सो कार्यालयले जनाएको छ ।

ऋषिदेवको शरीरमा डाबर जस्तो देखिएपछि स्वास्थ्य सेवा केन्द्रमा उपचारका लागि लगेको र त्यसको रगत र पिसाव परीक्षण गरेपछि दादुराकै कारण मृत्यु भएको जनस्वास्थ्य निरीक्षक मण्डलले पुष्टि गर्नुभयो ।
केही दिनदेखि सो क्षेत्रमा दादुराको सङ्क्रमण फैलिएपछि रेडक्रस सोसाइटी सुनसरीले आज बच्चा र आमालाई न्यानो कपडा वितरण गरेको छ ।

प्रतिक्रिया