छ सय किसानको चिया जैविक प्रमाणीकरण

इनेप्लिज २०७२ माघ २ गते ३:५८ मा प्रकाशित

teaइलाम, २ माघ । इलामको साँखेजुङमा रहेको हिमालयन साङ्ग्रिला टि प्रोड्युसर्स प्रालिमा आबद्ध ९०० किसानमध्ये ५९७ जना किसानको चिया जैविक (अग्र्यानिक) प्रमाणीकरण भएको छ ।

कारखानामा आबद्ध आठ वटा चिया सहकारी र तीन वटा साना किसान चिया समूहका किसानका उत्पादनलाई नेसनल एसोसिएसन सस्टेनेबल एग्रिकल्चर (नासा) अस्ट्रेलियाले जैविक प्रमाणित गरिदिएको हो ।

जैविक प्रमाणित भएपछि युरोपका बजारमा बिक्री गर्न पाइने कारखानाले जनाएको छ । जैविक प्रमाणीकरण गरिएका किसानलाई नासाले प्रमाणपत्रसमेत उपलब्ध गराइसकेको छ ।

नासाले बाँकी ३०० किसानको चियासमेत प्रमाणीकरण गर्न प्रक्रिया अघि बढाएको हिमालयन साङ्ग्रिलाका व्यवस्थापक आरसी नेपालले जानकारी दिनुभयो ।

माईपोखरी, साँखेजुङ, सुम्बेक, सुलुबुङ, मङ्गलबारे, शान्तिडाँडा र चमैता गाविसका किसानको ३२६ हेक्टर क्षेत्रफलमा लगाएको चिया जैविक प्रमाणीकरण गरिएको हो ।

जैविक प्रमाणित चियाको मूल्यसमेत कारखानाले अन्यको भन्दा बढी दिँदै आएको छ । जैविक प्रमाणित भएका किसानलाई प्रतिकिलो रु ५० दिँदै आएको छ ।

आगामी दुई वर्षभित्र सबै किसानको चिया जैविक प्रमाणित गरेपछि कारखानाले पूर्णरूपमा जैविक प्रमाणित चिया मात्र प्रशोधन गर्ने जनाएको छ । विश्व बजारमा नेपाली चियाको बिक्री र बजारीकरणका लागि जैविक प्रमाणीकरण अनिवार्य मानिएको छ । किसानले रासायनिक मल प्रयोग गर्न छाडेको तीन वर्षमा जैविक प्रमाणित गर्ने काम भइआएको छ । विसं २०६६ देखि किसानलाई यो अभियान सुरू गरिएको हो ।

कारखानाले यस वर्ष जैविक प्रमाणित पाँच लाख किलो हरियोपत्ती प्रशोधन गरी एक लाख १० हजार तयारी चिया उत्पादन गरेको छ । उत्पादित तयारी चियामध्ये ७५ प्रतिशत भारतका विभिन्न सहरमा र बाँकी २५ प्रतिशत जर्मनी निर्यात हुने गरेको व्यवस्थापक नेपालले जानकारी दिनुभयो ।

यस वर्ष पनि २३ हजार किलो तयारी जैविक चिया जर्मन निर्यात भएको कारखानाले जनाएको छ । जैविक चियापत्तीको मूल्य तुलनात्मक रूपमा रासायनिक मल हालेको चियाभन्दा बढी हुन्छ ।

जैविक चिया उत्पादन गर्दा किसान र कारखाना दुवैलाई फाइदा हुने भएकाले यहाँका धेरै किसान जैविक चियातर्फ उन्मुख भएका छन् ।

प्रतिक्रिया