दुई ठाउँका पशु सेवा केन्द्र सहयोगीको भरमा

इनेप्लिज २०७२ माघ २ गते ३:४० मा प्रकाशित

बाबियाचौर (म्याग्दी), २ माघ । म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका पशु सेवा केन्द्र वर्षौंदेखि सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन् ।

लुलाङ र अर्थुङ्गेको थाकनपोखरीस्थित पशुसेवा केन्द्रमा प्राविधिक जनशक्ति नहुँदा कृषक मर्कामा परेका हुन् । दुईवटै सेवा केन्द्रमा हाल एकएक जना सहयोगी मात्र रहेको स्थानीय कृषकले गुनासो गरेका छन् ।

प्राविधिक जनशक्ति नहुँदा पशु स्वास्थ्यसम्बन्धी सेवा सुविधा प्राप्त गर्न कठिनाइ भएको लुलाङका बासिन्दा केशरबहादुर पुर्जाले बताउनुभयो । द्वन्द्वका कारण विस २०५८ मा विस्थापित भएको लुलाङ सेवा केन्द्र दुई वर्षअघि मात्रै पुनःस्थापना भएको थियो ।

यसैगरी, अर्थुङ्गे र पुलाचौर क्षेत्रका कृषकलाई सेवा प्रवाह गर्ने उद्देश्यले थाकनपोखरीमा रहेको सेवा केन्द्रमा पनि दुई वर्षभन्दा बढी समयदेखि प्राविधिज्ञ छैनन् । जिल्ला पशुसेवा कार्यालय म्याग्दीका प्रमुख वरिष्ठ पशु चिकित्सक दयाराम चापागाईंले दरबन्दीअनुसारका जनशक्तिको अभाव हुँदा सबै सेवा केन्द्रमा प्राविधिज्ञ पठाउन नसकिएको बताउनुभयो ।

उहाँले दरबन्दीअनुसारका जनशक्ति व्यवस्था गर्न पहल भइरहेको छ । उता मुदीमा सेवा केन्द्र रहेको कार्यालय र पशुसेवा विभागमा अभिलेख भए पनि अहिलेसम्म कर्मचारी नगएको र कार्यालय पनि नभएको पाइएको छ । म्याग्दीमा २४ जना विभिन्न तहका पशु स्वास्थ्य र सेवासम्बन्धी प्राविधिज्ञको दरबन्दी भए पनि अहिले १६ जना मात्रै कार्यरत छन् ।

प्रतिक्रिया