काठमाडौं–नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५२ औँ वार्षिक साधारणसभासँगै आगामी आईतबार हुन लागिरहेको निर्वाचनका लागि तीन समूह मैदानमा उत्रिएका छन् ।
सम्भूराज पाठक नेतृत्वको व्यवसायीक टिम, एमाले समर्थित मधुसूदन आचार्य र नेपाली कांग्रेस निकट मिहीका राज्यलक्ष्मी शाह (धाख्वा) को छुट्टाछुट्टै प्यानलबीच निर्वाचनका लागि हुन लागेको प्रतिस्पर्धाले यतिबेला पर्यटन बजार ह्वात्तै तातेको छ ।
दुई राजनीतिक संगठनहरुको गठबन्धनले चुनावी टिम बनाएपनि नाट्टाको चुनावमा राजनीतिक प्रभाव पर्ने नदेखिने व्यवसायीहरु नै बताउँछन् । विभिन्न आस्थामा रहे पनि व्यवसायीहरुले नाट्टाको लागि व्यवसायीक टिम नै खोजी गरिरहेको बुझिन्छ ।
पर्यटन ट्राभल, ट्रेडका व्यवसायीहरु फोहोरी राजनीतिक गठबन्धनबाट दिक्क भई व्यवसायीक टिम नै खोजी गरिरहेको अवस्थामा सम्भूराज पाठकको व्यवसायीक टिम मैदानमा छ ।
यस हिसावले नाट्टा निर्वाचनमा पाठकको प्रभाव बलियो देखिन्छ ।
कुराकानीका क्रममा अध्यक्षका प्रत्यासी पाठकले आफूले कुनै राजनीतिक गठबन्धनमा टिम नबनाएको बताउँदै व्यवसायीहरुको चाहना र भावनालाई कदर गर्दै समावेशी टिम बनाएको बताएका छन् ।
विभिन्न राजनीतिक आस्थामा रहेका व्यवसायीहरुका साथै ट्राभल, ट्रेडमा रहेकाहरुले पनि आफ्नो अभियानलाई साथ दिने प्रतिवद्वता जाहेर गरेको पनि उनले बताए । ‘हामी व्यवसायीक पार्टी होँ । हामीभित्र विभिन्न आस्थाका व्यवसायीहरु हुनुहुन्छ होला ।’ पाठकले भने, ‘तर, नाट्टाको नेतृत्वको सवालमा कुनै राजनीतिक गठबन्धनबाट अभिप्ररित हुन सक्दैनौँ ।’
सम्पूर्ण ट्राभल, ट्रेडका अग्रज तथा व्यवसायीहरुलाई आफ्नो नेतृत्व नाट्टामा गएमा संस्थालाई नयाँ गति र दिशा प्रदान गर्ने बताउँदै सहयोगका लागि उनले सबैसमक्ष आग्रहसमेत गरेका छन् ।
को हुन् पाठक ?
वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्षसमेत रहेका पाठक सन् १९९७ देखि पटक –पटक नाट्टाको कार्यसमितिमा आवद्व रहँदै आएका छन् ।
उनी ब्लूबर्ड ट्राभल एण्ड टुर्सका प्रवन्ध निर्देशकसमेत हुन् ।
कुनै पनि राजनीतिक दलको समर्थन बिना नै आफूहरु आगामी नाट्टा निर्वाचनमा जान लागेको बताउने पाठक आफूलाई स्वतन्त्र, व्यवसायीक तथा सबै राजनीतिक पार्टीमा आस्था राख्ने व्यवसायीहरुको साथ रहेको दावी गर्छन् । आफ्नो टिम संस्थागत रुपमा समेत लामो अनुभव संगालिसकेको उनी बताउँछन् । नाट्टा निर्वाचनमा आफ्नो टिमको विशेषता र भावी योजनाबारे पाठकको भनाई जस्ताको तस्तै ः
मेरो नेतृत्वको कार्यसमिति टिम स्वतन्त्र र व्यवसायीक छ । कुनै पनि राजनीतिक दलको समर्थन नरहे पनि सबै राजनीतिक पार्टीमा आस्था राख्ने साथीहरु यो टिममा आवद्व हुनुहुन्छ । यो विशूद्व व्यवसायीक हितका लागि लड्ने टिम हो ।
म आफैँ सन् १९९७ देखि नाट्टाको कार्यसमितिमा ‘इन एण्ड आउट’ गरिरहेको छु । र, अहिले म संस्थाको प्रथम उपाध्यक्ष छु । मेरा टिमका सबै पदाधिकारी र अधिकांश सदस्यहरु पनि नाट्टामा लामो अनुभव संगालेकाहरु हुनुहुन्छ । यो कार्यसमितिको प्रथम उपाध्यक्षका उम्मेद्वार नाट्टाको वर्तमान कोषाध्यक्ष हुनुहुन्छ । त्यस्तै महासचिवका उम्मेद्वार हालको संस्थाका सचिव हुनुहुन्छ । द्वितीय उपाध्यक्ष र सचिवले पनि नाट्टामा एक (एक कार्यकाल गुजारीसक्नुभएको छ ।
टुर, टिकेटिङ र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय मार्के्टिङको बारेमा राम्रो ज्ञान र अनुभव भएकाहरु हाम्रो टिममा हुनुहुन्छ । सरकार तथा विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य कसरी गर्नुपर्छ भन्नेमा यो टिमका प्रत्येकमा लामो अनुभव छ ।
…
नेपालको पर्यटन क्षेत्र ह्रासोन्मुख भईरहेको सन्दर्भमा हामी नाट्टामा जानासाथ छिमेकी मुलुक भारत र चीनमा गएर मार्के्टिङ गरी ती मुलुकका पर्यटकहरु ल्याउन प्रयत्न गर्नेछौँ ।
नेपालको आर्थिक सुचकांक न्यून बिन्दूमा झरेको अवस्थामा पर्यटन क्षेत्रलेमात्र यसलाई छिटो योगदान दिन सक्छ । सोका लागि टिकेटिङ र टुरलाई एउटै गतिमा लग्नु आवश्यक छ ।
पर्यटक आगमनको महत्वपूर्ण पाटो के हो भने अहिले विभिन्न अन्तर्रा्ष्ट्रिय एयरलाईन्सहरुले नेपालमा आफ्ना उडानहरु कम गरिरहेको छ, उनीहरुलाई नेपाल आउनका लागि नेपाल सरकारले के –के सुविधाहरु उपलब्ध गराउनुपर्छ, यसका लागि हामीले आफ्नो स्थानबाट पहलरकदमी गर्नेछौँ ।
यसैगरी यथासक्य धेरै बाह्य पर्यटकहरु नेपाल भित्र्याउनका लागि विभिन्न मुलुकहरु पुगेर नेपालको पर्यटनको मार्के्टिङ गर्ने र सोका लागि नेपाल नेपाल सरकार, पर्यटन बोर्डका साथै सरोकारवाला सबैसँग सहकार्यको हात अगाडि बढाएर काम गर्नेछौँ ।
त्यस्तै होटल एसोसियसन अफ नेपाल (हान) सँग सहकार्य गरी नेपालका ट्राभल एजेन्सिहरुलाई बाहिरकालाई भन्दा कम्तीमा १० देखि १५ प्रतिशत छुट दिनुपर्छ भन्ने कुरामा हामी ध्यान दिनेछौँ ।
नेपालमा खासगरी टुर अपरेटर र टुर गर्नेहरुको समस्या धेरै छ । तीनको समस्या समाधानार्थ पनि हामी पहल गर्नेछौँ ।
अर्को कुरा नेपालमा एउटा ट्राभल मार्ट गर्ने मेरो योजना छ । सन् २००९ मा पनि मेरै संयोजकत्वमा यस्तै खालको ट्राभल मार्ट गरिएको थियो । यसले खस्किएको ट्राभल, टुर व्यवसायलाईमात्र नभएर नेपालको सिङ्को पर्यटनलाई त्राण दिन सक्छ ।
यसबाहेक नेपालमा पर्यटक बसपार्क नभएकाले सुविधासम्पन्न एउटा ‘टुरिष्ट बस टर्मिनल’ बनाउने पनि हाम्रो योजना छ ।
प्रतिक्रिया