सुदूरपश्चिममा काग तिहार मनाइँदै

इनेप्लिज २०७२ माघ १ गते २:०२ मा प्रकाशित

Kag-tiharबैतडी, १ माघ । सुदूरपश्चिममा आज काग तिहार मनाइँदैछ । कात्तिकमा पर्ने दीपावली तिहारमा कागको पूजा गर्ने प्रचलन रहिआएको भए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने आज अलि फरक ढङ्गले काग तिहार मनाउने गरिन्छ ।

स्थानीय भाषामा ‘नरहरि’ भनिने यस चाड माघे सङ्क्रान्तिको नामबाट पनि बुझिन्छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात् माघे सङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन छ ।

हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ । उक्त खानेकुरा माघे सङ्क्रान्तिका दिन बिहानै नुहाइधुहाइ गरी ‘का कौवा का का मेरो रोटी खा’, ‘का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने प्रचलन रहेको छ ।

धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पण्डित जयानन्द भट्टले बताउनुभयो ।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनविश्वास छ उहाँले भन्नुभयो – “काग तिहारमा भने यी सबै नकारात्मक मान्यतालाई बिर्सिएर कागको पूजा गरिन्छ ।”

कागले पुस १५ गते तीर्थमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको जनविश्वास रहेको छ ।

काग अत्यन्तै चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी पनि हो । काग तिहारमा कागलाई पुज्ने विभिन्न महत्व र कारण रहेका छन् । कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता रहेको छ । अर्कोतर्फ यसले अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्र्रा र सबै प्रकारका मांशजन्य फोहरहरु खाइदिने हुनाले सर्वगुणी पक्षीका रुपमा मानिन्छ ।

त्यसैगरी हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ । आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागले लगेर लुकाएको रोटीलाई मानिसले भेटाएर ब्याउने गाईलाई खुकाए बाच्छी सप्रिनेसमेत विश्वास गरिएको छ ।

माघे सङ्क्रान्तिमा कागलाई मीठा खानेकुराहरु खुवाउँदा पाप नष्ट हुने धार्मिक मान्यता रहीआएको र पार्वती शिवलाई पति पाउँ भनेर माघ महिनामा वर्त बसेकी हुनाले पनि माघ महिनालाई धार्मिक महिना मान्ने प्रचलन रहेको पण्डित जयानन्द भट्टले बताउनुभयो ।

माघ महिना धार्मिक महिना भएकाले माछा मासु पनि खानु हुँदैन भन्ने पुस्तौँदेखि चलिआएको प्रचलन रहेको पण्डित भट्टको भनाइ रहेको छ । पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन भएकाले यसलाई पुसको पाक्य माघको खाक्य पनि भन्ने गरिएको छ ।

सुदूरपश्चिमेलीले मनाउँदै आएका मौलिक चाड पर्वमध्येको एक चाड माघे सङ्क्रान्ति अर्थात् पुसे तिहारका लागि कामको सिलसिलामा घरबाहिर रहेका मानिसहरु घर फर्किने गर्छन् भने विवाहित महिलाहरु माइती घर जाने गर्छन् । माघे सङ्क्रान्तिलाई आफन्त एवम् इष्टमित्रहरुसँग भेटघाट गर्ने पर्वको रुपमा लिइन्छ ।

पुस्तौँदेखि मनाइँदै आएको पुसे तिहारकोे महत्व सुदूरपश्चिममा अझै उत्तिकै रहेको पाइन्छ ।

प्रतिक्रिया