एक महिने दत्तात्रय मेला सम्पन्न, भूकम्पका कारण मेला प्रभावित

इनेप्लिज २०७२ पुष ३० गते ३:१८ मा प्रकाशित

भक्तपुर, ३० पुस । भक्तपुरको दत्तात्रयमा पुस महिनामा लाग्ने एक महिने मेला सम्पन्न भएको छ ।

पुस महिनाभरि नै दत्तात्रयमा मेला लाग्ने भएपछि पुसको प्रत्येक बुधबार भने विशेष मेला लाग्नेमा यसवर्ष भूकम्पका कारण मेला प्रभावित भएको छ ।

ब्रह्मा, विष्णु र महेश्वरका रुपमा पुजिँदै आएको यस मन्दिरमा महाभूकम्पका कारण यसवर्ष दर्शनार्थी नआउँदा मेला प्रभावित भएको स्थानीयवासी मोहन प्रजापतिले बताउनुभयो ।

पुस महिनामा दत्तात्रय मन्दिरमा तीन किमीसम्म लामो लाइन हुने गरेकामा यसवर्ष भने नगन्यरुपमा मात्रै दर्शनार्थी आएको उहाँले बताउनुभयो ।

मन्दिरमा एक महिना लाग्ने मेला व्यवस्थापन गर्न समितिले लाइनमै टोकन बाँड्ने, स्वास्थ्य शिविर गर्ने, पूजाको सहज व्यवस्थापन गर्ने, स्वयम्सेवक परिचालन गर्दै आएकामा यसवर्ष केही गर्नु नपरेको दत्तात्रयका शिवराज श्रेष्ठले बताउनुभयो ।

यसवर्ष भूकम्पले क्षति प¥याएका घर र भूकम्पको त्रासका कारण लामो लाइन बसेर पूजा गर्नुपर्ने गरी दर्शनार्थी नआएका बताउँदै उहाँले दर्शनार्थी नआउँदा मेलाको रौनक हराएको बताउनुभयो ।

भक्तपुरका नजिक क्षेत्रबाट मात्रै यसवर्ष मेला भर्न दर्शनार्थी आएका थिए । विगतका वर्षमा घन्टौँ लाइन बस्नुपर्ने भए पनि यसवर्ष आउनेबित्तिकै पूजा एवम् दर्शन गर्न पाएको रमिला बस्नेतले बताउनुभयो ।

बुधबार दत्तात्रय मन्दिरमा भेटिनुभएकी भक्तपुर ताथलीकी बस्नेतले भूकम्पको त्रासले यसवर्ष मन्दिर आउने कम भएको बताउनुभयो ।

प्रतिक्रिया