कञ्चनपुर, ३० पुस । गर्भवती आमा र शिशुको पोषणमा सुधार ल्याउन कञ्चनपुरमा आमाहरुलाई कुखुरा वितरण गरिएको छ ।
जिल्लाका दैजी, कृष्णपुर, रैकवार विचवा, बाइसे विचवा र शङ्करपुर गाविसका नमुना वडाबाट छनोट गरिएका ४५ आमालाई १० वटाका दरले कुखुरा वितरण गरिएको हो । कुखुरापालन गरेर अन्डा खाने बानीको विकास गर्नका लागि कुखुरा वितरण गरिएको सुआरा कार्यक्रम कञ्चनपुरका संयोजक हेमा पराजुलीले भन्नुभयो– “एक हजार दिनमा आमा र शिशुको पोषणमा सुधार ल्याउन कुुखुरा वितरण गरेका छौँ ।”
ग्रामीण क्षेत्रका आमाहरु पौष्टिक आहाराको कमीका कारण जोखिममा रहेकाले पोषणमा सुधार ल्याउन कुखुरा वितरण गर्र्ने कार्यलाई अगाडि बढाइएको उहाँले बताउनुभयो । कुखुरा वितरणसँगै गर्भवती आमाहरुलाई पौष्टिक आहारा खानका लागि जनचेतना दिने कार्यसमेत गरिँदै आएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया