आफ्नो कमाइबाट समाजसेवामा लागेका मन्सुर

इनेप्लिज २०७२ पुष ३० गते १:३८ मा प्रकाशित

जाजरकोट, ३० पुस । एक दशकअघि बाराको कलैया बजारमा पुसको जाडोमा हिँडिरहेका दिलजन मन्सुरसँग एकजना माग्नेले थरथर चिसोले काप्दै रु १० मागे ।

त्यतिखेर मन्सुर जम्मा सात कक्षामा पढ्दै थिए । उनले माग्नेलाई रु १०, खाजाको टिफिनबक्स र आफूले लगाएको ज्याकेट पनि दिए । सानैमा निकै दयालु स्वभावका दिलजन अहिले आफ्नो कमाइको सबै रकम विभिन्न कारणले पीडित भएकाहरुको सहयोगका लागि खर्च गरिरहेको बताउनुहुन्छ । सानैमा स्विस समाजसेवी हर्मनबाट प्रभावित भएका दिलजन आफ्नो जीवनको सबै कमाइ गरिब दुःखीका लागि खर्च गर्ने बताउनुभयो ।

आर्थिक रुपले सम्पन्न परिवारका दिलजन प्रत्येक चार महिनाको आफ्नो कमाइ जम्मा गरेर विभिन्न ठाउँका पीडितका लागि खर्च गर्ने योजना र कार्यक्रम बनाएर हिँडिरहनुभएको छ । गत वैशाखमा आएको विनाशकारी भूकम्पका बेला पीडित १४ जिल्लाका सर्वसाधारणलाई आफ्नो बस्ने घर नै बेचेर राहत सहयोग गरेका दिलजनले बुधबार २०६६ सालको झाडापखाला र २०७२ सालको स्वाइनफ्लुबाट जाजरकोटमा पीडित भएकाका लागि महँगा फिल्टरलगायतका अन्य सामग्री विद्यालयमा गएर बाँड्नुभएको छ ।

तीन दर्जन विद्यालयलाई मन्सुरले महँगो फिल्टर र ३०० बढी स्थानीयवासीलाई विभिन्न औषधि र जाडो मौसमका लुगा वितरण गर्नुभएको छ । प्रतिवटा रु एक लाख र ५० हजार मूल्य पर्ने फिल्टर जिल्लाको पूर्वी भेगका २६ वटा प्राथमिक विद्यालय र सदरमुकाम खलङ्गाका १० वटा निजी तथा सरकारी विद्यालयलाई वितरण गरिएको विइङ होमो स्पेनन्स काठमाडौँका स्वयम्सेवक अभिषेक श्रेष्ठले बताउनुभयो ।

सामाजिक सेवाका लागि मन्सुरकै सक्रियतामा मानिसको वैज्ञानिक नाम होमो स्पेनन्सको नामबाट २०७१ सालमा स्थापना भएको परोपकारी विइङ होमो स्पेनन्स नामक संस्थामार्फत उहाँले जाजरकोटका महामारी पीडित गाउँमा रु ४० लाख बराबरको सामग्री वितरण गर्नुभएको थियो ।

एमबिबिएस उत्तिर्ण गरी शिक्षण र चिकित्सा दुवै काम एकैसाथ गरिरहेका मन्सुरको समाज सेवाबाट भावबाट धेरैजना प्रभावित बनेका छन् । काठमाडौँको मेडिकेयर अस्पतालमा उहाँ बिरामीको सेवा गर्नुहुन्छ भने होप इन्टरनेसनल कलेजमा अध्यापन गर्नुहुन्छ । आफूले पढाउने विद्यार्थी र सँगै काम गर्ने सहकर्मीहरुसहित १५ जनाका साथमा जाजरकोट पुगेका डा मन्सुरले आफ्नो जीवनको सबै कमाइ सडक बालबालिका, बेसहारा ज्येष्ठ नागरिक, शारीरिक रुपमा अपाङ्ग तथा अन्य विपन्नहरुको हेरचाह र सहयोगमा खर्च गर्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया