इलाम, २९ पुष । पशुपालनका लागि उन्नत क्षेत्र मानिएको जिल्लाको पूर्वोत्तर क्षेत्रका घरैपिच्छे खुलेका डेरी उद्योगलाई नाकाबन्दीले छोएको छैन ।
यहाँ उत्पादन भएको घीउ, छुर्पी, सजहरूपमा भारतीय बजारमा पुर्याउन सकिने भएकाले नाकाबन्दीको कुनै असर नपरेको हो । जिल्लाको जमुना, मावु, माइमझुवा, प्याङ, जोगमाई, गोर्खे, पशुपतिनगर, नयाँ बजारलगायतका गाविसका किसानले भारतीय रूपैयाँ भित्र्याइरहेका छन् । जमुनामा मात्र १९ वटा डेरी उद्योग सञ्चालनमा रहेको स्थानीय कुमार गुरूङ बताउनुहुन्छ ।
“नाकाबन्दीले कुनै असर पारेको छैन” गुरुङले भन्नुभयो । जमुना–८ मा मात्र पाँच डेरी उद्योग सञ्चालित छन् । डेरीले उत्पादन गरेको छुर्पी, घीउ जिल्लाका विभिन्न बजार र भारतको मिरिक, सिलगुढी, दार्जिलिङसम्म पुग्ने गरेको छ । मावुका चिण्डु शेर्पाको डेरी उद्योगमा दैनिक ६०० लिटर दूधबाट घीउ छुर्पी तयार हुन्छ । “उत्पादित वस्तु स्थानीय र भारतीय व्यापारीले घरैबाट लैजाने गरेका छन्” उहाँले भन्नुभयो ।
जमुना–९ का केवल भट्टराईको डेरीले पनि दैनिक ४०० लिटर दूध प्रशोधन गरी घीउ, छुर्पी बनाउने गरेको छ । “मासिक रु ३० हजारसम्म आम्दानी हुन्छ” उहाँले भन्नुभयो । अहिले इलाम, पाँचथर र ताप्लेजुङबाट सङकलन भएको छुर्पी ठूला व्यापारी हुँदै अमेरिकासम्म पुग्ने गरेको किसानहरु बताउँछन् ।
जमुना–८ का साङ्गे शेर्पाले ४० हजार लगानी गरेर सञ्चालन गर्नुभएको डेरी उद्योगबाट अहिले मसिक रु ३० हजारसम्म आम्दानी गरिरहनुभएको छ । दैनिक २५० लिटरसम्म दूध प्रशोधन गरेर घीउ, छुर्पी उत्पादन हुन्छ । उहाँले किसानबाट प्रतिलिटर दूध रु १८ देखि रु २६ मा खरिद गर्नुहुन्छ । भारतीय बजारसम्म पुर्याउँदा घीउ प्रतिकिलो रु ४५० र छुर्पी रु ५०० मा बिक्री भइरहेको छ ।
घरेलु तथा साना उद्योग विकास समितिले जिल्लामा १७३ वटा डेरी उद्योग दर्ता भएको जनाएको छ । कार्यालय प्रमुख नवराज राउतले थोरै लगानीमा डेरी उद्योग खोल्न सकिने भएकाले किसानले मनग्य आम्दानी लिइरहेको बताउनुभयो ।
प्रतिक्रिया