आर्थिक क्रान्ति आजको आवश्यकताः शहरी विकास राज्यमन्त्री चौधरी कालिका नगरपालिकाको बजेट १३ करोड बिनियोजित

इनेप्लिज २०७२ पुष २९ गते १४:०२ मा प्रकाशित

चितवन, खोलेसिमल, पौष २९
शहरी विकास राज्यमन्त्री मञ्जु कुमारी चौधरीले आर्थिक क्रान्ति विना देश विकास असम्भव रहेको भन्दै आर्थिक क्रान्तिको लागि सबै एकजुट हुन आग्रह गर्नुभयो । पूर्वी चितवनको कालिका नगरपालिका, रेडक्रसग्रामको प्रथम नगर परिषदको उद्घाटन गर्दै मन्त्री चौधरीले विश्वका हरेक देश आर्थिक क्रान्तिबाट मात्र समुन्नत भएको भन्दै हामी नेपाली पनि एकजुट भएर आर्थिक क्रान्ति गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । देशमा लोकतन्त्रपछि संविधान निर्माण भइसकेको र यदि कुनै संशोधन गर्नुपर्ने भए आवश्यक संशोधन गर्न मुख्य राजनैतिक दल तयार रहेको भन्दै मन्त्री चौधरीले सबैप्रकारका आयोग मार्फत् समस्या समाधान गर्न सकिने बताउनुभयो । कालिका नगरपालिकाको रेडक्रसग्राममा भवन निर्माण र कालिका नगरपालिकाको विकास निर्माणको लागि आफुले सक्दो पहल गर्ने मन्त्री चौधरीले बताउनुभयो । पूर्वी चितवनको जुटपानी, पदमपुर र शक्तिखोर गाविस समाहित भई बनेको यस नगरपालिकाको चालु आर्थिक वर्षमा ५ करोड ११ लाख ७४ हजार बयालिस रुपैया र आगामी २०७३÷७४ को लागि ७ करोड ८२ लाख ८२ हजार रुपैया विनियोजित भएको नगरपालिकाका लेखाप्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । नगरपालिकाको चालु आर्थिक वर्ष अन्तर्गत आन्तरिक तर्फ ४७ लाख २६ हजार र बाह्य तर्फ ४ करोड ६४ लाख ४८ हजार आम्दानी र खर्च तर्फ चालु ५५ लाख २६ हजार पूँजीगत तर्फ ४ करोड ५६ लाख ४८ हजार रहेको आचार्यले जानकारी दिनुभयो । त्यसैगरी आर्थिक वर्ष ०७३÷७४ को लागि ७ करोड ८२ लाख ८२ हजारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको उहाँले जानकारी दिनुभयो । प्रथम नगर परिषदको अवसरमा नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द सिग्देलले नगरपालिकाको नीति तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संयुक्त वडा कार्यालय पदमपुरकी प्रमुख रमा आचार्य, शक्तिखोरका अर्जुन पगेनी, नेपाली काँग्रेस चितवनका जिल्ला सचिव जितनारायण श्रेष्ठ, नगर प्रतिनिधि कुमार कार्की, नेकपा एमाले चितवनका अध्यक्ष जे.एन. थपलिया, नेकपा एमाले नगर प्रतिनिधि एवम् जिल्ला कमिटी सदस्य बिनोद रेग्मी, एनेकपा माओवादी जिल्ला इन्चार्ज ईश्वरी भट्टराई, नगर प्रतिनिधि रामध्वज डल्लाकोटी, नयाँ शक्ति चितवनका संयोजक रमेश रेग्मी, नेकपा माओवादी क्रान्तिकारी जिल्ला प्रतिनिधि उत्तम सिंखडा लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द सिग्देलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया