धरौटी बुझाउन नसक्दा कारागारमा

इनेप्लिज २०७२ पुष २९ गते ३:०९ मा प्रकाशित

jail-650x250भक्तपुर, २९ पुस । सार्वजनिक जग्गा कीर्ते गरी व्यक्तिका नाममा ल्याउने अभियुक्त दुई जनालाई भक्तपुर जिल्ला अदालतले माग गरेको धरौटी बुझाउन नसकेपछि मङ्गलबार कारागार चलान गरिएको छ ।

अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले कीर्तेमा संलग्न रहेको अभियोगमा पक्राउ परेका मोरङ हात्ती गौडा–६ घर भई भक्तपुर–१६, लोकन्थली बस्ने देवराज केसी र दोलखा नाम्मु–४ घर भई हाल काठमाडाँै गौशाला बस्ने मोतीप्रसाद घिमिरेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बताउनुभयो ।

अदालतले केसीसँग रु ८५ लाख र घिमिरेसँग रु ५० लाख धरौटी माग गरेकामा बुझाउन सकेनन् । विसं २०६२ मा मध्यपुरथिमी नगरपालिका–१६ स्थित दिव्येश्वरी कुशल भैरव थलीको रु सात करोड ७४ लाख ५० हजार बराबरको चार रोपनी छ आना एक पैसा जग्गा कीर्ते गरी काठमाडौँ महानगरपालिका–४ बालुवाटार ललित निवासका सुवर्णशम्शेरका नाति, कनकशम्शेरका छोरा हेमाद्रीका नाममा ल्याउने काममा संलग्न रहेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीको अनुसन्धानमा मालपोत कार्यालयका फाँटवाला खरिदार केसी, लेखनदास घिमिरे, घिमिरेकै पत्नी पार्वती र अधिवक्ता युवराज कोइरालाको समेत संलग्नता पाइएपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेको दुई जना कारागार चलान भएलगत्तै फरारमध्येका अधिवक्ता कोइरालालाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले मङ्गलबार नै डिल्लीबजारबाट पक्राउ गरेको छ । फरारमध्येका हेमाद्रीशम्शेर र पार्वतीको भने खोजी जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता शेखर खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया