प्रसूतिगृहमा शिशु जन्माउन प्रेरित

इनेप्लिज २०७२ पुष २९ गते २:२३ मा प्रकाशित

pregnant-women-03-300x300पाल्पा, २९ पुस । स्वास्थ्य संस्था आएर प्रसूति गराउनुपर्ने ज्ञानको विकास हुन थालेपछि यहाँका महिलाहरु प्रसूतिगृहमा मात्र शिशु जन्माउन थालेका छन् ।

स्वास्थ्य संस्थामा शिशु र आमाको ज्यान जाने जोखिमबाट जोगिने भएपछि अहिले ग्रामीण भेगका महिला प्रसूतिगृह धाउन थालेका हुन् । चापपानी गाविसस्थित स्वास्थ्य चौकीमा प्रसूति सेवा सञ्चालन गरिएपछि यस भेगका गर्भवतीहरु नियमित रुपमा प्रसूतिगृह गई स्वास्थ्य जाँच गराउँछन् ।

चापपानीमा चालु आवको पुसको अन्तिम हप्तासम्म १२ महिलाले प्रसूतिगृहबाट नै बच्चा जन्माएको अनमी वसन्ती विकले बताउनुभयो । दुई वर्षअघिदेखि सो स्वास्थ्य चौकीमा चौबिसै घन्टा प्रसूति सेवा सञ्चालन गरिएपछि यम्घा, चापपानी, बराङ्गदी, दर्लमडाँडा र खानीगाउँ गाविसका महिलाले प्रसूति गराउन जिल्ला सदरमुकाम तानसेन जान नपरेको उहाँले बताउनुभयो ।

गर्भवतीमा अवस्थामा कम्तीमा पनि चार पटक स्वास्थ्य परीक्षण गराउन प्रसूतिगृहमा जानुपर्ने हुन्छ । नियमित स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएमा सरकारले रु एक हजार ४०० प्रोत्साहन भत्ता दिँदै आएको छ । गर्भवतीले नियमित रुपमा स्वास्थ्य परीक्षण नगरी शिशु जन्माउन मात्र स्वास्थ्य संस्था गएमा भने रु एक हजार मात्र दिइने व्यवस्था छ ।

स्वास्थ्य चौकीका अनुसार गत आव २०७१÷७२ मा २२ जनाले प्रसूति सेवा लिएका थिए ।
स्वास्थ्य स्वयम्सेवीको सहयोगमा कतिपय महिलास्वास्थ्य संस्थामा नियमित स्वास्थ्य परीक्षण गर्न थालेका छन् । यसबाट धेरै मात्रा शिशु र आमाको ज्यान जोगिएको छ ।

प्रतिक्रिया