दुईसयले दिए अनुदानमा पोखरी खनाउन आवेदन

इनेप्लिज २०७२ पुष २६ गते ५:५५ मा प्रकाशित

पथरी (मोरङ), २६ पुस । यस वर्ष २०० जना कृषकले जिल्ला कृषि कार्यालय, मोरङमा माछापालनका लागि पोखरी खन्ने प्रस्ताव दर्ता गराएका छन् ।

सरकारले तराईका जिल्लामा विशेष माछापालन कार्यक्रम सुरु गरेपछि माछापालनतर्फ कृषकको आकर्षण बढेका कारण यस वर्ष मोरङमा ३०० बिगाहा क्षेत्रफलमा नयाँ पोखरी खन्न कृषकले प्रस्ताव दर्ता गरेका हुन् ।

यसवर्ष सरकारले मोरङमा २०० हेक्टरमा माछाखेती विस्तार गर्ने कार्यक्रम ल्याएको भए पनि कृषकको माग त्योभन्दा बढी देखिएको हो । जिल्ला कृषि कार्यालय मोरङका मस्त्य विकास अधिकृत नेल्सन पोखरेलकाअनुसार कृषकले माग गरेको निवेदनअनुसार स्थलगत अनुगमन गरेर अन्तिम छनोट गरिनेछ । सरकारले पोखरी निर्माणका लागि प्रतिहेक्टर रु तीन लाख अनुदान दिने तयारी गरेको छ ।

मोरङमा अहिले ६०० हेक्टर जमिनमा माछापालन हुँदै आएको छ । विशेष कार्यक्रम लागू भएपछि झन्डै ३० प्रतिशत वृद्धि भई ८०० हेक्टर पुग्ने देखिएको छ । अहिले मोरङको उत्पादनले यहाँको ४० प्रतिशत मागलाई मात्र धान्न सक्छ । अरु ६० प्रतिशत माछा भारतबाटै आपूर्ति हुने गरेको छ । मोरङमा वार्षिक सरदर ४० लाख किलो माछा उत्पादन हुने गरेको छ ।

दुई करोड ५२ लाखको लागानीमा वृक्षरोपण

विराटनगरलाई हरित नगर बनाउन ५० हजार बिरुवा रोपिने भएको छ । विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीका अनुसार ५० हजार बिरुवा रोप्ने र रु दुई करोड ५२ लाख खर्च गर्ने योजनासहित विराटनगर उपमहानगरपालिकाले वन मन्त्रालयसँग सम्झौता छ ।

विराटनगर उपमहानगरपालिका र जिल्ला वन कार्यालयको संयुक्त सहयोगमा ५० हजार ठूला साइजका बिरुवा उत्पादन गरी सडकको दायाँबायाँ र सार्वजनिकस्थलमा वृक्षारोपण गरिने छ । यस आवमा आठ हजार वृक्षरोपण हुने तथा वार्षिक १० हजारका दरले बिरुवा रोपिने छ ।

प्रतिक्रिया