काठमाडौँ, २० पुस । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेकाले स्पष्ट योजना लिएर सरोकार पक्षलाई आउन आग्रह गर्नुभएको छ ।
स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको २१औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले पुँजी बजारको विकासका खडा भएका सरोकारवालालाई यथार्थ सुझावसहित छलफल गरेर सरकार अगाडि बढ्न तयार रहेको बताउनुभयो ।
बैंक तथा वित्तीय संस्था र बिमाले पुँजी बजारको ८० प्रतिशत हिस्सा ओगटेको उल्लेख गर्दै उहाँले पुँजी बजारमा संस्थागत लगानी र बजारको विविधीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
व्यवस्थापिका–संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले देशको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको पुँजी बजारलाई पारदर्शी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले पुँजी बजारलाई प्रतिस्पर्धी, गुणस्तरीय र आधुनिक बनाउनुपर्ने र ७५ वटै जिल्लामा बजार विस्तार गर्नुपर्ने बताउनुभयो ।
बिमा समितिका अध्यक्ष प्रा डा फत्तबहादुर केसीले पुँजी बजारको विकासबाटै अर्थतन्त्रको यथार्थ अवस्था प्रस्ट हुने भएकाले यसको विविधीकरण जरुरी भएको बताउनुभयो । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीले पुँजी बजार पूर्ण रुपमा अनलाइन प्रणालीमा लैजानुपर्ने र पुँजी बजारको दायरा बढाउनका लागि आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया