गाउँगाउँमा न्यानो बाँड्दै प्रजिअ र स्थानीय विकास अधिकारी

इनेप्लिज २०७२ पुष १९ गते १३:२७ मा प्रकाशित

Rss_Images_1451804327941_GB-Dolakha-Neno kapadaदोलखा, १९ पुस । चिसोले जनताको दैनिकीमा समस्या सिर्जना गरिरहेका बेला दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने र स्थानीय विकास अधिकारी सीता परियार विभिन्न गाविस र नगरपालिकामा न्यानो बाँडिरहनुभएको छ ।

जिल्लामा चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या बढ्न थालेसँगै प्रजिअ र स्थानीय विकास अधिकारी हिजोआज न्यानो बाँड्न व्यस्त हुनुभएको हो ।

अहिले जिल्लामा न्यानो बाँड्न प्रजिअ लामिछाने, स्थानीय विकास अधिकारी परियार, प्रहरी नायब निरीक्षक बेलबहादुर पाण्डेलगायतका सरोकारवालाको दैनिकी हिजोआज सङ्घसंस्थाले उपलब्ध गराएको न्यानो कपडा र नेपाल सरकारले उपलब्ध गराएको रु १० हजार रकम बोकेर वितरणमा व्यस्त रहनुभएको छ । यही साता जिरी नगरपालिकाभित्रका बालबालिका र महिलालाई केही रकम र न्यानो कपडा वितरण गरिएको छ ।

त्यस्तै, उहाँहरुकै उपस्थितिमा भिमेश्वर नगरपालिका वडा नं ३ र ६ को वडामा चिसोको चपेटामा परेका स्थानीय भूकम्पपीडितलाई रु १० हजार रकम वितरण गरिएको छ । भिरकोट गाविसका अति विपन्न परिवारका बस्तीमा रहेको माझी बस्तीमा उहाँहरुको उपस्थितिमा बालबालिका र वृद्धवृद्धालाई रु १० हजार राहत बाँड्ने काम भयो ।

शनिबारसम्मको तथ्याङ्कअनुसार जिल्लाका ४८ गाविसमध्ये अधिकांश गाविसमा न्यानोका लागि रकम वितरण सुरु गरिएको छ । रकम वितरण छिटो गर्नकै लागि प्रजिअ र स्थानीय विकास अधिकारी सक्रिय रुपमा लाग्नुभएको छ । स्थानीय विकास अधिकारी परियार भन्नुहुन्छ – “जनतालाई सरकारले न्यानो पार्न दिएको रकम हामी ढिला नगरी वितरण गरिरहेका छाँै । बंैकमा रकम अभाव छ । सचिवको कमीले केही ढिलाइ भएको हो । गृहबाट पूरै रकम नआउँदा केही समस्या भएको छ ।”

अहिलेसम्म गृह मन्त्रालयले रु ६५ करोड रकममात्रै उपलब्ध गराएको छ । दोलखामा ८५ हजार भूकम्पपीडित परिचयपत्र वितरण भएको हुँदा थप रु २० करोड रकम गृहबाट आए सबै पीडितले न्यानो कपडा खरिदका लागि रकम पाउनेछन् ।

प्रतिक्रिया