देश विखण्डन गर्ने जो कोही भए राज्यले कडा कारबाही गर्ने: गच्छदार

इनेप्लिज २०७२ पुष १९ गते १३:०८ मा प्रकाशित

INDIA-NEPAL-DIPLOMACYइटहरी, १९ पुस । उपप्रधानमन्त्री तथा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राज्य विभाजित गर्ने वा देश विखण्डन गर्ने जो कोही भए पनि त्यसलाई राज्यले कडा कारबाही गर्ने बताउनुभएको छ ।

उपप्रधानमन्त्री गच्छदारले आज सुनसरीको दुहवी–भलुवा नगरपालिका–३ पचिरादेखि फर्सेसम्मको साढे दुई किमी कालोपत्र सडकको शिलान्यासपछि सञ्चारकर्मीसँगको कुराकानीका अवसरमा सो कुरा बताउनुभएको हो ।

उपप्रधानमन्त्री गच्छदारले सिरहा, सप्तरी क्षेत्र अर्थात् तराईको क्षेत्रमा विखण्डन ल्याउने गरी सैन्य दस्ता तयार गर्ने गरेको र मधेस राज्य विभाजन गर्ने गरी अभियान चलाइरहेको सिके राउतको गतिविधिप्रति सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफमा उहाँले कसैलाई पनि राज्य विखण्डित पार्ने अधिकार नभएको ठोकुवा गर्नुभयो । उहाँले त्यसप्रकारको गतिविधि गर्नेलाई राज्यले नियन्त्रित गर्ने पनि स्पष्ट पार्नुभएको छ ।

अर्को प्रसङ्गमा उपप्रधानमन्त्री गच्छदारले मधेस आन्दोलनले मधेसी जनतालाई नै आजित र मर्माहत तुल्याएकाले अब मधेसका बखेडामा अल्झिएका राजनीतिक दलले त्यसलाई छोडेर सहमति सहकार्य र छलफल प्रक्रियामा आएर निकास निकाल्ने विषयमा सबै पक्ष सहमतिमा जान लचक हुनैपर्ने कुरामा जोड दिनुभएको छ ।

यो वा त्यो बहानामा नेपाली जनतालाई दुःख दिने विषय कसैलाई पनि मान्ने नहुने र त्यो विषयले कहिल्यै प्रथामिकता पनि पाउन नसक्नेतर्फ उहाँले सबै राजनीतिक दलको ध्यानाकर्षण गराउनुभयो ।

उपप्रधानमन्त्री गच्छदारले सरकारमा रहेका राजनीतिक दल तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र मधेसवादी दलले आफूलाई लचकतामा रुपान्तरण गरेर अब अन्तिमपटक सहमतिका लागि वार्तामा बस्न जरुरी रहेको पनि स्पष्ट पार्नुभएको छ ।

उहाँले कसैले पनि मेरो गोरुको बाह्रै टक्का भनेर अड्डी कस्दैमा चाहेको कुरा प्राप्त गर्न कठिन रहेको तर्क अघि सार्नुहुँदै क्रान्ति गर्ने वा आन्दोलन गर्ने पक्षले पनि के गर्दा सबैको हित हुन सक्छ भन्ने विषयमा विश्लेषण गर्न जरुरी रहेकोतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री गच्छदारले देश बाहिर वा देशभित्रै जहाँ रहेर आन्दोलनको उद्घोष गरे पनि त्यो कति फलदायी बन्ला भन्ने कुरा नेपाली जनताले स्पष्ट बुझिसकेको पनि खुलासा गर्नुभएको छ ।

सडक विभागका महानिर्देशक माधव कार्कीको अध्यक्षतामा भएको शिलान्यास समारोहमा सांसद सीताराम मेहता, सुमित्रा विश्वास र २ नं सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख रामचन्द्र राउतलगायतले बोल्नुभएको थियो ।

रु चार करोड ७३ लाखको लागतामा दुई वर्षभित्रमा कालोपत्र गरिसक्ने गरी गीताञ्जलि जेभी निर्माण कम्पनीले ठेक्का लिइसकेको सो सडक ५ दशमलव ५ मिटर चौडाको हुने र दुवै किनारमा पैदल वा साइकल चल्ने ग्राभेल सडकसहित पक्की ढलसमेत निर्माण हुने बताइएको छ ।

यो वर्ष सुनसरी जिल्लामा छ र मोरङ जिल्लामा नौ वटा यसप्रकारका सडक निर्माण भइसक्ने कुरा पनि सार्वजनिक गरिएको छ ।

ब्रह्मकुमारी राजयोग पाठशाला शिलान्यास

उपप्रधामन्त्री विजयकुमार गच्छदारले आज सुनसरी जिल्लाको दुहवी–भलुवा नगरपालिका–१४ फर्से गाउँमा निर्माण गरिने ब्रह्मकुमारी राजयोग पाठशाला भवनको शिलान्यास गर्दै सम्पूर्ण नेपालीलाई आफूले चाहेअनुसारको धर्म मान्न पाउने अधिकार संविधानले नै सुनिश्चित गरेको बताउनुभयो ।

उहाँले जनचाहनाअनुसार प्रत्येक नेपालीलाई आ–आफ्नो भावनाअनुरुपको धर्म मान्न पाउने अधिकार सुनिश्चित भए पनि नेपालीको भावना र संस्कार संस्कृतिको भने खिलापमा कार्य गर्न नपाइने कुरामा पनि सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री गच्छदारले आफूले प्रजातन्त्र आएपछि धेरैपटक भौतिक निर्माण मन्त्रालयमा बस्ने अवसर प्राप्त गरेको र त्यस अवधिमा सुनसरी र मोरङ जिल्लाको सडक सिँचाइ पुलपुलेसा सञ्चार क्षेत्रको विकासमा जनचाहनाअनुसारका विकास योजना सम्पन्न गर्दै आएको पनि स्मरण गराउनुभएको छ ।

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहनुभएका उहाँले राजयोग शिक्षाका लागि निर्माण गर्न लागिएको विद्यालयका लागि आफूले संसद् विकास क्षेत्र कोषबाट रु दुई लाख सहयोग उपलब्ध गराउने घोषणासमेत गर्नुहुँदै यो विद्यालय निर्माण सम्पन्न गर्नका लागि आफूले भरमग्दुर सहयोग गर्दै जाने वचन पनि दिनुभयो ।

समाजसेवी ईश्वरवतीदेवी चौधरीले निःशुल्क उपलब्ध गराउनुभएको १० धुर जमिनको क्षेत्रमा विद्यालय भवन निर्माण हुने बताइएको छ ।

उखा चौधरीको सभापतित्वमा भएको सो समारोहमा बैजनाथ भाइलगायतले बोल्नुभएको थियो । विद्यालय भवन रु १५ लाखको लागतमा निर्माण हुनेछ ।

प्रतिक्रिया