चामल उद्योग सङ्कटमा

इनेप्लिज २०७२ पुष १९ गते १:४२ मा प्रकाशित

chaamal-300x167वीरगन्ज, १९ पुस । लगातारको लामो बन्द र हडतालका कारण बारा र पर्साका चामल उद्योग सङ्कटमा पर्न थालेका छन् । बन्दका कारण बारा पर्साका चामल उद्योगले रु साढे सात अर्बभन्दा बढी घाटा बेहोरेका छन् ।

मधेस केन्द्रित दलहरूको आह्वानमा झन्डै साढे चार महिनादेखि तराई मधेसका जिल्लामा बन्द र हडताल जारी रहेको छ । कच्चा पदार्थको अभाव र ढुवानीमा देखिएको अवरोधका कारण बारा र पर्साका अधिकांश चामल उद्योगले घाटा बेहोर्नुपरेको हो, वीरगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोधकुमार गुप्ताले भन्नुभयो – “क्षमताका आधारमा चामल उद्योगले दैनिक रु १५ लाखदेखि रु दुई करोडसम्म घाटा बेहोरिरहेका छन् ।

आन्दोलनकारीको निरन्तरको अवरोधका कारण यस क्षेत्रका अधिकांश उद्योग बन्द भएका छन्, उहा“ले भन्नुभयो – “चार महिनाको निरन्तर बन्द र हडतालका कारण यस क्षेत्रका चामल उद्योगले साढे ७ अर्बभन्दा बढी घाटा बेहोरिसकेको छ ।

स्वदेशी चामल उद्योगहरूलाई प्रोत्साहन गर्ने हो भने धानको आयातमा लाग्ने कृषि सेवा शुल्क घटाउनुपर्ने तथा चामलको आयात शुल्कमा वृद्धि गर्नुपर्नेमा चामल व्यवसायीहरू जोड दिन्छन् । अहिले चामलको आयातमा आठ प्रतिशत र धानमा पा“च प्रतिशत कृषि सेवा शुल्क लिइने गरिन्छ ।

हामीले यस वर्ष कम्तीमा चामलको आयातमा लाग्ने आठ प्रतिशत शुल्कबाट बढाएर १० प्रतिशत र धानको आयातमा लाग्ने पा“च प्रतिशतबाट घटाएर शून्य वा कम्तीमा दुई प्रतिशत कायम गर्नुपर्ने माग सरकारसँग गरेका थियौँ, मोहित एग्रो इन्डस्ट्रिजका प्रबन्ध निर्देशकसमेत रहनुभएका उपाध्यक्ष गुप्ताले भन्नुभयो – तर सरकारले हाम्रो माग सुनेन, फलस्वरुप भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा बारा र पर्सामा रहेका चामल उद्योग सङ्कटमा परेका छन् ।

पा“च वर्षअघिसम्म बारा र पर्सामा करिब ३५० को हाराहारीमा रहेको चामल उद्योगमध्ये झन्डै ३०० को हाराहारीमा बन्द भइसकेका छन् । अहिले ५० मा सीमित भएका चामल उद्योगमध्ये पनि आधा सङ्कटग्रस्त रहेको चामल उद्योग सञ्चालकहरु बताउ“छन् ।

भारतले सार्क मुलुकमा बासमतीबाहेक अन्य धानको निर्यातमा लगाएको रोक सन् २०११ को सेप्टेम्बर ९ बाट फुकुवा गरेपछि तयारी चामल र धान ठूलो परिमाणमा आयात हुन थालेको हो । भारतको विहार मात्र नभई उत्तर प्रदेशका उद्योगका चामलसमेत आयात भइरहेको दाबी चामल उद्योगीहरुको छ ।

स्वदेशमै उत्पादित धानले यहा“का चामल मिलको वार्षिक कुल मागको ७० प्रतिशत धान्न सक्ने अवस्था रहेकामा यहा“को किसानको ढाड सेक्ने गरी भारतबाट चामल र धान दुवै आयात गरिएको चामल उद्योगी अनिरुद्धप्रसाद गुप्ताले बताउनुभयो ।

मुलुकको कुल चामल मागको ४० देखि ५० प्रतिशत आपूर्ति यहा“का उद्योगले गर्दै आएका छन् भने काठमाडौँ उपत्यकाको चामलको आधा बजार यी दुवै जिल्लाको उद्योगले धान्दै आएका छन् ।
हामीले कुनै समय भारतमा चामल निर्यात गर्ने गरेका थियौँ, उद्योगी गुप्ताले भन्नुभयो – “अहिले भारतबाट ठूलो परिमाणमा चामल आयात हुने गरेका छन्, त्यसैले आयातलाई निरुत्साहन गर्ने किसिमले धान र चामलको भन्सार मूल्याङ्कन व्यावहारिक र वैज्ञानिक हुनुपर्दछ ।”

वीरगन्ज भन्सार कार्यालयका अनुसार, गत आवमा यो नाका भएर भारतबाट रु पाँच अर्ब ७४ करोड मूल्य बराबरको रु २१ करोड छ लाख किलो धान आयात भएको थियो ।

स्वदेशी चामल उद्योगको प्रवद्र्धन र किसानको हकहितका लागि धान चामल बोर्ड गठन गर्नुपर्ने माग गत वर्षदेखि नै उठाउ“दै आएको भए पनि यस वर्षको बजेटमा समेत त्यसलाई सम्बोधन गरिएको छैन, अर्का चामल उद्योगी गणेश लाठले भन्नुभयो – चामल उद्योगको प्रवद्र्धनका लागि सरकार संवेदनशील हुनुपर्दछ ।

उहाँका अनुसार, बन्द र हडतालका अवधिमा करिब आठ हजार अस्थायी मजदुरले रोजगारी गुमाएका छन् भने स्थायी मजदुरलाई उद्योग व्यवस्थापकले उद्योग बन्द भएको अवधिको पनि तलब र सुविधा दिनुपरेको छ ।

प्रतिक्रिया