उपयुक्त ठाउँमा बसपार्क नहुँदाबीच सडकमै पार्किङ

इनेप्लिज २०७२ पुष १९ गते १:३० मा प्रकाशित

100_4999-680x453खोटाङ, १९ पुस । उपयुक्त ठाउँमा बसपार्क नहुँदा खोटाङमा सञ्चालित यातायातका सवारी साधनबीच सडकमै पार्किङ गरेर राख्ने गरिएको छ । जिल्लामा निर्माण गरिएका दुवै बसपार्क उपयुक्त ठाउँमा नहुँदा जिल्लामा सञ्चालित यातायातका सवारी साधन दिक्तेलस्थित रत्नपार्कको बीच सडकमै पार्किङ गरेर राख्ने गरिएको हो ।

दिक्तेल नगरपालिका–४ सोल्मा र ३ को आचार्य गाउँमा निर्माण गरिएका बसपार्क उपयुक्त ठाउँमा नभएकाले सकडमै पार्किङ गर्ने गरिएको यातायात व्यवसायी सङ्घ, खोटाङका सचिव रामकुमार हिङ्माङले बताउनुभयो । “बीच सडकमा पार्किङ गर्दा हामी व्यवसायी मात्र नभई सबैलाई समस्यामा भएको छ ।” उहाँले भन्नुभयो – “यसलाई सम्बन्धित निकायले गम्भिरताका साथ लिनुप¥यो ।”

जिल्लामा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको ३५ रोपनी जग्गामा दुई ठाउँमा बसपार्क निर्माण गरिएको छ । सोल्मामा २० र आचार्य गाउँमा १५ रोपनी जग्गामा बसपार्क निर्माण गरिएको छ ।

दिक्तेल नगरपालिका–२ का राजन केसीलगायतले बसपार्कका लागि आफूहरु निःशुल्क जग्गा दिन तयार रहेको बताउँदै आएका छन् । “हामीले यसअघि पनि बसपार्कका लागि जग्गा दिन्छौँ भनेकै हो ।” केसी भन्नुहुन्छ – “यदि बसपार्कका लागि आवश्यक छ भने हामी पर्याप्त जग्गा दिन तयार छौँ ।”

केसीका अनुसार रत्नपार्कस्थित मध्यपहाडी लोकमार्गमा पर्ने ग्यारेजमुनिको जग्गा बसपार्कलाई दिने प्रस्ताव आएको हो । उक्त जग्गा आफूहरुका लागि उपयुक्त भएको यातायात व्यवसायी सङ्घ, खोटाङका अध्यक्ष गणेश शाहीले बताउनुभयो । “सुरक्षाको दृष्टिले पनि उक्त ठाउँ उपयुक्त छ ।” उहाँले भन्नुभयो – “हामीले भनेको ठाउँमा बसपार्क निर्माण गरिए सङ्घको तर्फबाट ४० प्रतिशत खर्च व्यहोर्न तयार छौँ ।”

जिल्लामा ११७ बस, २२ जिप, ७० ट्र्याक्टर र ७० ट्रक सञ्चालनमा छन् । सुनकोसीमा पक्की पुल र दूधकोसीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएकाले अझै धेरै सङ्ख्यामा यातायातका सवारी साधन जिल्ला भित्रिन सक्ने व्यवसायीको भनाइ छ ।

जिल्लामा बाटै छेकेर यातायातका सवारी साधन पार्किङ गरेर राखिए पनि नगरपालिकाले चासो नदिएको स्थानीयवासीको आरोप छ । नगरपालिकाले चासो नदिँदा रत्नपार्कदेखि पुरानो बेसक्याम्पसम्म बाटै छेकेर यातायातका सवारी साधन पार्किङ गर्ने गरिएको छ ।

प्रतिक्रिया