बालबालिकालाई संस्कारी बनाउन बाल क्लब र पुस्तकालय स्थापना

इनेप्लिज २०७२ पुष १८ गते ३:४५ मा प्रकाशित

बेनी (म्याग्दी), १८ पुस । म्याग्दीको बेनी नगरपालिका–५ डम्मरामा बालबालिकालाई असल संस्कार सिकाई सबल र योग्य बनाउने उद्देश्यले बाल क्लब र बाल पुस्तकालय स्थापना गरिएको छ ।

स्थानीय समाजसेवी कृष्णबहादुर बानियाँको संरक्षकत्वमा सनराइज बाल क्लबको गठन गरिनुका साथै त्यस क्षेत्रमा रहेका ५० जना बालबालिकालाई राम्रो संस्कार सिकाउनका लागि बाल पुस्तकालयको समेत सञ्चालन गरिएको छ ।

सदरमुकाम बेनी बजारसँगै सिमाना जोडिएको डम्मरामा बसोबास गर्ने अधिकांश दलित र विपन्न बालबालिका विद्यालयमा अध्ययन गर्ने भए पनि उनीहरुको अनुशासनलगायतका चारित्रिक कुरा सुधार गर्न आवश्यक रहेकाले अभियान सञ्चालन गरिएको बानियाँले बताउनुभयो ।
“हाम्रा बालबालिकालाई राम्रो संस्कार सिकाइ उनीहरुको व्यक्तित्व विकास गराउनका लागि बाल क्लबको गठन गरी संस्थागतरुपमा नै कामको थालनी गरेका हौँ” बानियाँले भन्नुभयो ।

बालबालिकाको व्यक्तित्व विकास गर्न प्रेरणादायी र चेतनामूलक पुस्तक, पत्रपत्रिका रहेको बाल पुस्तकालय पनि स्थापना गरिएको बानियाँले बताउनुभयो ।

प्रतिक्रिया