इन्धन अभावले विद्युत् आयोजनाको निर्माण अवधि लम्बियो

इनेप्लिज २०७२ पुष १८ गते ३:४० मा प्रकाशित

चौतारा, १८ पुस । विनाशकारी भूकम्प र भारतको नाकाबन्दीले सिन्धुपाल्चोकको माथिल्लो चाकु ‘ए’ विद्युत् आयोजनाको निर्माण अवधि एक वर्ष लम्बिनुका साथै लागतसमेत बढ्न गएको छ ।

विसं २०६८ मा निर्माण कार्य सुरु भएको २२ दशमलव २ मेगावाटको उक्त आयोजना २०७२ कात्तिकमा सम्पन्न गरिने लक्ष्य भए पनि भूकम्प र भारतको अघोषित नाकाबन्दीले इन्धन अभाव भएपछि २०७३ कात्तिकमा मात्र सम्पन्न हुने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजूले बताउनुभयो ।

शिवश्री हाइड्रोपावरको रु तीन अर्बमा निर्माण सुरु गरी २०७१ को चैतमा सम्पन्न गरिने लक्ष्य राखिए पनि प्राविधिक कारणले सात महिनापछि सम्पन्न हुने लक्ष्य सारिएको र समय थपिँदै गएपछि सुरु लागतमा थप रु एक करोड वृद्धि भएको आयोजनाले जनाएको छ ।

अरनिको राजमार्गको १०० किमीमा पर्ने सिन्धुपाल्चोकको मार्मिङ गाविसको चाकु बजारदेखि आयोजना स्थलसम्मको ३० किमी प्रवेशमार्ग सम्पन्न भइसकेको थियो । भूकम्पले विभिन्न ठाउँमा पहिरो लागेर सबै क्षति भएपछि पुनःनिर्माण गर्नुपरेको र इन्धन अभावले पाँच किमी सडक निर्माण अझै बाँकी रहेको छ ।

त्यसैगरी तीन हजार ३०० मिटर भूमिगत सुरुङमध्ये इन्धन अभावकै कारण ६०० मिटर सुरुङ खन्न बाँकी रहेको कार्यकारी निर्देशक कसजूले बताउनुभयो ।

फुल्पिङकट्टी गाविसको चन्द्रपुमा बाँधबाँधी याङ्लेफाँटमा विद्युत् गृह निर्माण गरी आयोजना स्थलदेखि २२ किमी प्रसारण लाइन ल्याई लामोसाँघुको विद्युत् सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरिने कार्यक्रम रहेको छ ।

त्यसैगरी ३६ मेगावाटको अपर बलेफीको हालै विद्युत् विकास विभागबाट विद्युत् खरिद बिक्री सम्झौता भएको छ । वानिङ डेभलप्मेन्ट प्रालिद्वारा रु छ अर्बको लागतमा निर्माण हुने सो आयोजना २०७५ को चैतमा सम्पन्न गरिने लक्ष रहेको छ ।

गुम्बा गाविसको लिदीमा बाँध बाँधी चार हजार ५०० मिटर भूमिगत सुरुङद्वारा पानी ल्याई गोल्चे गाविसको बैकुण्ठेमा निर्माण हुने विद्युत् गृहमा खसालिने योजना रहेको अध्यक्ष कसजूले बताउनुभयो ।

बलेफी–जलविरे सडकबाट ३० किमी प्रवेशमार्ग निर्माण गरी आयोजनास्थलबाट २२ किमी लामो प्रसारण लाइनद्वारा लामोसाँघुस्थित सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरिने छ ।

आयोजनाबाट २१२ मेगावाट प्रतिघन्टा विद्युत् उत्पादन हुने जानकारी पनि उहाँले दिनुभयो ।

प्रतिक्रिया