प्रहरीको सक्रियतामा ३३७ रोपनी जग्गामा गाँजा फँडानी

इनेप्लिज २०७२ पुष १८ गते ३:३७ मा प्रकाशित

भोजपुर, १८ पुस । जिल्ला प्रहरी कार्यालय भोजपुरले विभिन्न ठाउँमा गरी ३३७ रोपनी क्षेत्रफलमा रहेको गाँजा फँडानी गरेको छ ।

जिल्लाका केही युवाले लागुऔषध सेवन गरेको र केही लागुऔषध जिल्ला बाहिर निकासी हुन थालेपछि यो अभियानलाई अगाडि बढाई गाँजा फँडानी गरिएको हो ।

जिल्लाको भोजपुर नगरपालिकाभित्र रहेको १८ रोपनी, श्याशिला गाविसको चार रोपनी, च्याङ्ग्रे गाविसको १० रोपनी, दुम्मानाका वडाबाट ३९ रोपनी, हुसनपुर गाविसका विभिन्न वडामा गरी ३३७ रोपनी गाँजा फँडानी गरिएको छ ।
अभियानले हालसम्म विभिन्न मिति र समयमा भोजपुर जिल्लाका विभिन्न स्थानमा प्रहरी टोली खटेर करोडौँ मूल्य बराबरको अवैध गाँजाखेती फँडानी गरी नष्ट गरिएको हो ।

भोजपुर प्रहरीले अवैध गाँजा फँडानी कार्यलाई प्राथमिकतामा राखी सुराक परिचालन तथा सक्रियताका साथ प्रहरी परिचालन गरी अवैध गाँजाखेती नष्ट गर्ने कार्यलाई भदौ महिनादेखि तीव्रता दिएको छ ।

भोजपुरमा गाँजाखेतीलाई शून्य बनाउने अभियान चलाई प्रहरीले यतिबेला गाउँगाउँमा रहेको गाँजा नष्ट गर्ने अभियान चलाई निरन्तरता दिएपछि स्थानीयवासीले समेत गाँजाखेती नष्टमा सहयोग पुर्‍याउँदै आएकोे र यो काम प्रशंसनीय गर्न योग्य रहेको समेत बताउन थालेका छन् ।

प्रतिक्रिया